Logo

प्रदेश नं ५ को मतपरिणाम घोषणा



तुलसीपुर, दाङ, २४ माघ (रासस) : प्रदेश नं ५ को राष्ट्रियसभा सदस्य निर्वाचनको मतपरिणाम घोषणा गरिएको छ ।

मुख्य निर्वाचन अधिकृत हेमन्तकुमार रावलका अनुसार दलिततर्फ नेकपा (एमाले)का उम्मेदवार रामलखन चमार विजयी हुनुभएको छ ।

चमारको मतभार पाँच हजार ५०८ रहेको छ भने उहाँका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका मैकुलाल वाल्मिकीको मतभार दुई हजार ३७० रहेको छ । त्यसैगरी, अपाङ्ग तथा अल्पसंख्यकतर्फ नेकपा (माओवादी केन्द्र)का राजकुमार कुँवर विजयी हुनुभएको छ । उहाँको मतभार पाँच हजार ३४० रहेको छ भने उहाँका प्रतिद्वन्द्वी काँग्रसका लुटबहादुर खत्रीको मतभार दुई हजार ५२० रहेको छ ।

त्यसैगरी, खुल्ला तीन पदमा एमाले, काँग्रेस र माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । एमालेका खिमलाल भट्टराईको मतभार तीन हजार ६, काँग्रेसका दुर्गाप्रसाद उपाध्यायको मतभार दुई हजार ४१८ र माओवादी केन्द्रका चन्द्रबहादुर खड्काको मतभार दुई हजार २८० रहेको मुख्य निर्वाचन अधिकृत रावलले जानकारी दिनुभयो ।

तीनै उम्मेदवारले ल्याउनुपर्ने भन्दा बढी मत पाएका कारण विजयी भएको घोषणा गरिएको छ । एकल संक्रमणीय निर्वाचन प्रणालीमा एक जना उम्मेदवारले एक हजार ९६१ मत ल्याउनुपर्ने थियो । तीन महिला भने यसअघि नै र्निविरोध निर्वाचित भइसकेका छन् ।

प्रदेश नं ५ मा ३०५ मतदाता रहेकामा ३०३ मत खसेको थियो । मतदानमा दुई जना अनुपस्थित रहे । रुपन्देहीबाट राष्ट्रिय जनता पार्टी नेपालबाट समानुपातिक सांसद बन्नुभएका बीना पन्त र बाँकेबाट सङ्घीय समाजवादी फोरमबाट नरैना गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाह अनुपस्थित रहनुभयो ।

प्रदेश नं ५ मा प्रदेशसभाका ५५ पुरुष र महिला ३१ गरी ८६ तथा स्थानीय तहबाट ११६ पुरुष र १०१ महिला गरी २१७ जनाले मतदान गरेका थिए ।

राष्ट्रियसभा सदस्यमा विजयीलाई बिहीबार बिहान निर्वाचित भएको प्रमाणपत्र वितरण गरिने कार्यक्रम छ ।



प्रतिक्रिया दिनुहोस्