Logo

एकता संयोजन समितिको बैठकः वैचारिक विषयमा मतैक्यता हुने



काठमाडौँ, २५ माघ : एमाले र माओवादी केन्द्रबीच पार्टी एकता प्रक्रियालाई गति दिन शुक्रबार पार्टी एकता संयोजन समितिको बैठक बस्ने भएको छ ।

एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज भएको छलफलमा राष्ट्रियसभा सदस्य निर्वाचनको परिणाम, प्रदेशसभा र पार्टी एकताका विभिन्न पक्षबारे छलफल भएको अध्यक्ष दाहालका प्रमुख स्वकीय सचिव जोखबहादुर महराले जानकारी दिनुभयो ।

राष्ट्रियसभाको निर्वाचनपछि नयाँ सरकार गठनको प्रक्रियासमेत अगाडि बढेका सन्दर्भमा पार्टी एकतालाई सार्थक निष्कर्षमा पु¥याएर सरकार गठनको मार्गप्रशस्त गर्ने विषयमा समेत दुई नेताबीच छलफल भएको महराले बताउनुभयो ।

संयोजन समितिको बैठकमा पार्टी एकताका सम्बन्धमा हालसम्म भएका प्रगति तथा भावी कार्ययोजनाका विषयमा छलफल भई वैचारिक तथा राजनीतिक विषयमा मतैक्यता कायम गर्न र सांगठनिक रुपमा मिलान गर्न समिति गठन गर्ने तयारी हुने बुझिएको छ । एकता प्रक्रियाले गति नलिएको तथा पछिल्ला दिनमा दुई नेताबीच छलफलसमेत हुन छाडेको सन्दर्भमा आज उहाँहरुबीच छलफल भएको थियो । रासस



प्रतिक्रिया दिनुहोस्