काठमाडौँ, २५ माघ : आइसिसी विश्व क्रिकेट लिग डिभिजन –२ मा नेपालले नामिबियालाई पराजित गरेको छ ।
नामिबियाको विन्डहकस्थित एफिज पार्क मैदानमा भएको उद्घाटन खेलमा नेपालले उत्कृष्ट बलिङसहित नामिवियालाई ४ रनले पराजित गरेको हो । टस हारेर पहिले ब्याटिङ गरेको नामिबियाले नेपाललाई जीतका लागि १३९ रनको लक्ष्य दिएको थियो । जवाफी ब्याटिङमा उत्रेको नेपालले ४९ दशमलव २ ओभरमा ९ विकेट गुमाएर लक्ष्य भेट्टायो ।
नेपालको जीतमा शुरुआती ब्याट्सम्यान ज्ञानेन्द्र मल्लले १५ रन जोड्दै बाहिरिए भने कप्तान पारस खड्का १९ रनमा समेटिए । नेपाली इनिङ्समा शरद् भेषवाकरले सर्वाधिक २९ रन जोडे जसमा उनले तीन चौका प्रहार गरेका थिए । दीपेन्द्र सिंह ऐरी ६ रनमा आउट भए भने करण केसीले तीन तथा रोहित पौडेलले १७ रन बनाए । सोमपाल कामीले १३ र वसन्त रेग्मीले २४ रन जोडे । नेपालका तर्फबाट रेग्मीले एक छक्का प्रहार गरे ।
त्यसअघि पहिले ब्याटिङ गरेको नामिबिया निर्धारित ५० ओभरको खेलमा ३४.२ ओभरमा सबै विकेट गुमाउँदै १३८ रनमा समेटिएको थियो । नामिबियाका लागि क्रेग विलियम्सले ४१ तथा जेन फ्रेलिङक र जाने ग्रिनले २२–२२ रन बनाए ।
बलिङतर्फ नेपालका लागि सन्दीप लामिछानेले चार, कामीले तीन तथा भेषवाकर, खड्का र रेग्मीले एक–एक विकेट लिए । जवाफी ब्याटिङमा उत्रेको नेपालका दुई ब्याट्सम्यान शून्य रनमा आउट भए । शुरुआती ब्याट्सम्यान दिलीप नाथ र आरिफ शेख शून्य रनमै बाहिरिए ।
आजै भएको अर्को खेलमा क्यानडाले ओमनलाई पराजित गरेको थियो भने संयुक्त अरब इमिरेट्सले केन्यालाई पराजित गरेको थियो । नेपालले शुक्रबार आफ्नो दोस्रो खेल ओमनसँग खेल्नेछ । (रासस)