Logo

चार वर्षअघि हराएका बालक फेला



जितपुर कपिलवस्तु, २६ माघ (रासस) : चार वर्षअघि हराएका एक बालकलाई फेलापारी यहाँ ल्याइएको छ । झापा सुरुङ्गास्थित तामाङ गाउँका १४ वर्षीय सुनिल विक चार वर्षअघि नाताले मामा पर्नेसँग भारतको पञ्जाव घुम्न गएका थिए ।

मामाले पञ्जाबमा आफ्नै पसलमा उनलाई काममा लगाएका थिए तर एक दिन मामा पर्नेले पसल बन्द गरी जानकारी नै नदिइ भागेको बालक सुनिलले बताए । भारतमा बेवारिसे भएर डुलिरहेका बेला भारतीय प्रहरीको सहयोगमा भारत नेपाली एकता समाजमार्फत बालक विकलाई कृष्णनगर प्रहरी कार्यालयमा पठाइएको थियो । उक्त प्रहरी कार्यालयले जिल्ला बालकल्याण समितिमार्फत कपिलवस्तु बालगृहमा पठाएको बालगृहका संयोजक रामप्रसाद अर्यालले बताउनुभयो ।

झापा जिल्ला सुरुङ्गा बस्ने तारामान विक र रमा विक छोरा सुनिललाई यही पुस २६ गते जिल्ला बाल कल्याण समितिमार्फत बालगृहमा लाइएको र उनले आफ्ना बुबाआमा र आफन्त भेट्न आतुर रहेको उहाँले जानकारी दिनुभयो ।

बालकका बुबाआमा पत्ता लगाई परिवारको जिम्मा लगाउन झापा जिल्ला बालकल्याण समितिसँग समन्वय गरी छिट्टै झापा पठाइने जिल्ला बालकल्याण समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी मदन भुजेलले जानकारी दिनुभयो ।



प्रतिक्रिया दिनुहोस्