Logo

प्रदेशसभा संसदीय दलको नेता बन्न मनोनयन दर्ता



विराटनगर, २६ माघ : नेकपा(एमाले) बाट प्रदेश नं १ को संसदीय दलको नेता छान्नका लागि आज दुई जना बीच मतदान हुने भएको छ ।

संसदीय दलका नेता बन्नका लागि एमालेका सचिवसमेत रहनुभएका नेता भीम आचार्य र पार्टीका पोलिटब्यूरो सदस्यसमेत रहनुभएका पूर्वमन्त्री शेरधन राईले आज बिहान ११ः३० बजे जिल्ला समन्वय समितिस्थित संसदीय दलको कार्यालयमा मनोनयनपत्र दर्ता गराउनुभएको हो ।

आचार्यको समर्थक र प्रस्तावकमा गणेश काङवाङ (पाँचथर) र तुलसी न्यौपाने (संखुवासभा) रहनुभएको छ भने राईको प्रस्ताव र समर्थकमा हिक्मत कार्की (झापा) र जगदीश कुशियत(सुनसरी) रहनुभएको छ ।

दाबी विरोधको प्रक्रिया पूरा भएपछि अपरान्ह ३ : ३० बजेदेखि मतदान हुने नेकपा(एमाले) मोरङका अध्यक्ष विनोद ढकालले जानकारी गराउनुभयो । प्रदेश नं १ मा नेकपा (एमाले)को प्रत्यक्षतर्फ ३६ र समानुपातिकतर्फ १५ गरी कुल ५१ जना प्रदेशसभा सदस्य छन् । तीमध्ये २६ मत ल्याउनु हुनेले संसदीय दलको नेता हुनुहुनेछ ।

संसदीय दलकै नेता मुख्यमन्त्री हुने सो पार्टीको विधानमा उल्लेख छ । (रासस)



प्रतिक्रिया दिनुहोस्

Screenshot