Logo

राजपा र फोरमपनि सरकारमा सहभागी होउन भन्ने हाम्रो चाहना छ : महासेठ



काठमाडौं, २६ माघ । नेकपा एमालेका नेता एवम् नवनिर्वाचित प्रतिनिधिसभा सदस्य रघुवीर महासेठले संविधान संशोधनमार्फत मधेशको समस्या समाधान गर्नको लागि एमाले तयार रहेकोले राजपा र फोरमलाई सरकारमा सहभागी हुन आग्रह गरेका छन् ।

शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा नेता महासेठले मधेशको समस्या समाधान गर्न आफूहरु तयार रहेको बताउँदै भने,‘एमाले र माओवादीले त संविधान संशोधनको लागि सहकार्य गरेर जाऔं भनेर राजपा र फोरमलाई आओस् भनिरहेको छ, हामी त उहाँहरु सरकारमा आउन् भन्ने चाहन्छौं।’ उनले राजपा र फोरमलाई सरकारमा ल्याउनको लागि आफूहरु पहल गरिरहेको समेत जनाए ।

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले फोरम र राजपा मधेश केन्द्रित दल भएपनि यही देशकै पार्टी भएकोले सरकारमा सहकार्य गर्न चाहेको सुनाए । महासेठले भने,‘राजपा र फोरमले समस्या साँच्चिकै समाधान गर्न चाहेको हो भने हामीसँग सम्पर्क गर्नुपर्यो नि, हामी संविधान संशोधन गर्छौं, तर उहाँहरुले भनेजस्तो जस्ताको त्यस्तै चाहीँ गर्दैनौं, देश र जनताको हितमा संशोधन गर्छौं।’

उनले संविधान संशोधनको मुद्दा सम्बोधन भएपछि मधेशवादी दलहरुसँग कुनै मुद्दा नै नहुने पनि बताए । उनले भने,‘संविधान संशोधनको मुद्दा हल भयो भने अब मधेशवादी दलहरुसँग कुनै मुद्दा नै हुँदैन्।’ प्रदेश सभाका सांसदहरुले हिन्दीमा बोलेकोले जनता आन्दोलित भएको उल्लेख गर्दै उनले बाहिर जे जे भाषा बोलेपनि हुने तर संसदमा बोल्न हिन्दी किन बोल्नुपर्यो भन्दै प्रश्न समेत तेर्साए ।

महासेठले अब एमालेको नेतृत्वमा वा माआवादीको नेतृत्वमा भन्दापनि एकीकृत पार्टीको नेतृत्वमा नयाँ सरकार गठन हुने विश्वास दिलाए । उनले भने,‘अब दुई पार्टी भन्ने कुरै छैन नि, हामी त एउटै पार्टी हौं।’ यद्धपी उनले दुई पार्टीवीच अन्तरविरोध कायम गर्न र एकता भाँड्नको लागि देशी तथा विदेशी शक्तिहरु लागिपरेको आरोप लगाए ।

जे–जस्तो प्रयास गरिएपनि कार्यकर्तादेखि नेताहरु एकताप्रति पूर्ण सचेत रहेको उनको विश्वास थियो । महासेठले भने,‘वाम गठबन्धन घोषणा गरेकै दिनदेखि हामी त भावानात्मक रुपमा एक भैसकेका थियौं, त्यही भएर जनताले हाम्रो पक्षमा प्रचण्ड बहुमत दिनुभयो, अहिले पनि हामी एक भएका छौं।’

महासेठले दुवै पार्टीका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डवीचको आपसी सहमतिकै आधारमा एकता प्रक्रिया टुँगोमा पुग्ने विश्वास व्यक्त गरे । उनले भने,‘पदीय बाँडफाँडपनि उहाँहरुले टुँगोमा पुर्याउनुहुन्छ, नेताहरुको योग्यता र क्षमताका आधारमा पदाधिकारी चयन हुन्छ।’ उनका अनुसार मन्त्री चयनको लागि अहिले खासै चर्चा भएको छैन । यद्धपी उनले पार्टी नेतृत्वले जे निर्णय दिन्छ आफूहरु त्यसलाई स्विकारेर अघि बढ्न तयार रहेको सुनाए ।

उनले प्रधानमन्त्री र अध्यक्ष दुवै पद एउटै व्यक्तिले चलाउन सक्ने क्षमता भएको उल्लेख गरे । उनले भने,‘ओली र प्रचण्ड दुवै जनाले दुवै पद एकै जनाले चलाउन सक्नुहुन्छ, कसले के चलाउने भन्ने कुरा मैले भन्ने कुरा होईन्, प्रचण्डजीले पनि चलाउन सक्नुहुन्छ, ओलीजीले पनि चलाउन सक्नुहुन्छ।’ दुवै नेताले अध्यक्ष पनि आँफै र प्रधानमन्त्री पनि आँफै भएर चलाईसकेकोले फेरि पनि चलाउन नसक्ने भन्ने कुरै नहुने उनको जिकिर थियो ।

यद्धपी उनले दोस्रो पुस्ताको नेताले नेतृत्व गर्नेबारे कुरा वाहियता भएको टिप्पणी गरे । उनले भने,‘कम्तिमा पनि अझै दश वर्ष ओली र प्रचण्डको आवश्यकत्ता छ, उहाँहरुले विश्राम लिने भन्ने कुरै आउँदैन्, चलाउन सक्नुहुन्छ।’

फरक प्रसँगमा उनले मुलुकमा संसद नभएको अवस्थामा गलत क्रियाकलापहरु भैरहेको भन्दै चिन्ता व्यक्त गरे । उनले भने,‘संसद नभएको अवस्थामा अहिले मुलुकलाई टाँट पल्टाउने कामहरु भैरहेका छन्, यो गलत हो, आउने सरकारलाई थप १२० अर्बको भार आउँछ।’ संसद नभएको अवस्थामा भीआईपीलाई सुविधान थप्ने कुरा गलत भएको उनको गुनासो थियो । यस्तै भैरहे मुलुक टाँट पल्टिन धेरै समय नलाग्ने उनको भनाई थियो ।

उनले एनसेल प्रकरणको कुरा उल्लेख गर्दै भने,‘एनसेल प्रकरणमा पैसा बाहिर गयो, सबै पैसा बाहिर जान दिने हो भने के हुन्छ ? मुलुकको हालत ? संसद नभएको बेला मनपरीतन्त्र भैरहेको छ।’ त्यतिमात्रै नभएर उनले संसद क्रियाशिल नभएको बेला न्यायालयले पनि कानूनका विरुद्धमा निर्णयहरु गरिरहेको आरोप लगाए । उनले भने,‘तर जनता त न्यायलय हेरिरहेका छन्, यही क्रियाकलापहरु बढ्दै गयो भने विश्वास घट्छ।’



प्रतिक्रिया दिनुहोस्