Logo

विद्यार्थी र शिक्षकको एकताले मात्र विद्यालय नमूना बन्छ : महरा



रोल्पा, २६ माघ (रासस) : पूर्वउपप्रधानमन्त्री तथा माओवादी(केन्द्र)का नेता कृष्णबहादुर महराले शिक्षक र विद्यार्थीको एकताले मात्र विद्यालय नमूना बन्नसक्ने बताउनुभएको छ ।

नेता महराले सो कुरा आज रोल्पाको लिवाङमा आयोजित एक अन्तरसंवाद कार्यक्रममा बताउनुभएको हो ।

दक्ष शिक्षकको परिचालन, मेधावी विद्यार्थीको आकर्षण र आवश्यक पूर्वाधारले नमूना विद्यालयलाई सघाउने महराको भनाइ थियो । रुखमुनि बसेर पढेको विगतलाई स्मरण गर्दै महराले भन्नुभयो अहिले युग र प्रविधि सुहाउँदो शिक्षाको माग रहेकाले त्यसतर्फ शैक्षिक संस्थालाई विकास गर्नुपर्छ ।

उहाँले पछिल्ला दिनमा रोल्पाबाट राजनीति, प्रशासन तथा प्राविधिक क्षेत्रबाटसमेत दक्ष जनशक्ति उत्पादन भइरहेकोमा सन्तोष व्यक्त गर्दै यसलाई अझै तीव्रताका साथ विकास गर्न जरुरी रहेको आँैल्याउनुभयो ।

बालकल्याण नमूना माध्यमिक विद्यालय लिवाङ रोल्पाको पञ्चवर्षीय गुरुयोजना तयारीका लागि सो अन्तरसंवाद कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा जिल्ला समन्वय समिति रोल्पाका प्रमुख राजबहादुर बुढा, रोल्पा नगरपालिकाका प्रमुख पूर्ण केसी, शिक्षा प्रेमी, बुद्धिजीवी अभिभावक, शिक्षक लगायतको सहभागिता रहेको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot