Logo

प्रदेश सरकारका लागि ३३६ वटा गाडी आवश्यक, गाडी व्यवस्थापन चुनौति बन्दै



माघ २७,काठमाण्डौ । प्रदेश सरकारका लागि तत्काल ३ सय ३६ वटा गाडी आवश्यक रहेको छ । प्रदेश १ मा तत्काल ५० गाडी आवश्यक पर्ने देखिएको छ । त्यसमध्ये केन्द्र सरकारले १३ वटा गाडी उपलब्ध गराउने भएको छ । बाँकी गाडी प्रदेशअन्तर्गतका जिल्लाबाट व्यवस्थापन गर्नुपर्ने स्थिति छ ।
आजको नयाँ पत्रिकामा खबर छ ।

प्रदेश २ मा तत्काल ३५ गाडी आवश्यक पर्ने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । यो प्रदेशमा प्रमुख सचिवसहित १० सचिव छन् ।
प्रदेश २ मा २१ जनासम्म मन्त्री हुन सक्ने अनुमान गरेर गाडी व्यवस्थापन गर्ने प्रयास भइरहेको छ । तत्काल मुख्यमन्त्रीसहित अन्य ६ जना मन्त्री, सभामुख, उपसभामुख, संसदीय समितिका सभापति र विपक्षी दलका नेताका लागि ३५ वटा गाडी आवश्यक परेको छ ।

प्रदेश ३ मा तत्काल ५९ गाडी आवश्यक पर्ने देखिएको छ । तीनवटा गाडी मात्र व्यवस्थापन भएको छ । मुख्यमन्त्री, मन्त्री, सभामुख, उपसभामुख, प्रमुख सचिव र सचिवहरूका लागि तत्काल गाडी व्यवस्थापन गर्न लागिएको छ ।

प्रदेश ४ का लागि तत्काल ३० वटा गाडी आवश्यक पर्ने आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ ।

तर, अहिलेसम्म मुख्यमन्त्रीका लागि मात्र गाडीको व्यवस्थापन हुने सकेको छ । यस्तै, प्रति मन्त्रालय तीनका दरले ६ मन्त्रालयलाई १८ वटा गाडी आवश्यक रहेको छ । संसद् सचिवालय, सभामुख, उपसभामुख, विपक्षी दलका नेताका लागि एक–एकवटा गाडी आवश्यक पर्नेछ ।

सरकारले १२ वटा गाडी पठाउने तयारी गरेको छ । अहिले प्रदेश कार्यालयले क्षेत्रीय प्रशासनको तीनवटा गाडी प्रयोग गरिरहेको छ ।



प्रतिक्रिया दिनुहोस्