Logo

मेरो इच्छाशक्तिले प्रदेश नम्बर तीन समृद्ध बन्छ, स्थायी राजधानी हेटौँडा नै हो : डोरमणि पौडेल



एमाले प्रदेश ३ को संसदीय दलको नेतामा डोरमणि पौडेल निर्वा्चित भएका छन् । योसँगै उनलाई प्रदेश ३ को मुख्यमन्त्री बन्ने बाटो खुलेको छ । यसअघि चर्चामा नरहेक पौडेल प्रदेश नम्बर तीन एमालेको संसदीय दलको नेतामा निर्वाचित भएपछि सबै आश्चर्यमा परे । मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर १ को प्रदेशसभा ’ख’ बाट निर्वा्चित डोरमणि पौडेल एमालेका पुराना नेता हुन् । उनी ३८ वर्षदेखि राजनीतिमा निरन्तर सक्रिय छन् । काठमाडौंको तत्कालीन फर्पिङ गाविसमा वि. सं. २००२ चैत १५ गते जन्मिएका पौडेलको स्थायी ठेगाना मकवानपुरको हेटौँडा उपमहानगरपालिका– ११, नवलपुर हो । उहाँसँग ऋषि धमलाले अन्तरवार्ता लिएका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि लिइएको अन्तरवार्ताको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।

तपाई प्रदेश नम्बर तीनको मुख्यमन्त्री बन्ने पक्का भयो । केके योजना बनाउनुभएको छ ?
मुलुकलाई समृद्धिको दिशातर्फ कसरी लैजाने, नेपालीहरुको मुहारमा कसरी हाँसो ल्याउने भन्ने नै मूल कुरा हो । यसका लागि आवश्यक कुराहरु केके छन्, सबै पहिचान गर्नुपर्छ । के कसरी समृद्ध बनाउन सकिन्छ भन्ने नै मूल एजेण्डा हो । समृद्धिको नारा मात्रै लगाउने, काम केही पनि नगर्ने हो भने त केही उपलब्धि हुँदैन ।

तीन नम्बर प्रदेशलाई समृद्ध बनाउने तपाईसँग के योजना छ ?
तीन नम्बर प्रदेश आफैँमा सम्पन्न छ । कुनै पनि कुराको कमी छैन । तर भएका स्रोत र साधनको सही सदुपयोग हुन सकेको छैन । ठीक ढंगले परिचालन मात्रै गर्न सकियो भने पनि समृद्ध बनाउन सकिन्छ । तीन नम्बर प्रदेशमा रसुवा, नुवाकोट, दोलखा, रामेछाप, मकवानपुर लगायतका जिल्लामा जलविद्युत् उत्पादनको सम्भावना छ । पर्यटन क्षेत्र विकासको सम्भावना पनि धेरै छ । कृषिको पनि सम्भावना छ । अब सबैसँग भिक मागेर स्रोत, साधन र पैसा माग्ने काम बन्द गरी आफ्नै स्रोत साधनको सदुपयोगबाट विकास गर्नुपर्छ ।

साधन र स्रोत हुँदा हुँदै पनि तपाईहरु जस्तो राजनीतिज्ञसँग योजना नभएकाले विकास हुन नसकेको होइन र ?
हो । हामीसँग राम्रो योजना थिएन । तर म शहरी विकाससँग नाता राख्ने व्यक्ति भएकाले शहरी विकासको सवालमा कमजोर छौँ भन्ने थाहा छ । अनप्लाण्ड तरिकाले विकास भइरहेको छ । यसलाई सच्याउन पनि समस्या छ । तर अबको पाँच वर्षमा हरेक नगरपालिकामा वेलप्लाण्ड सिटीको विकास गर्न सक्छौँ । नयाँ योजना ल्याएर नयाँ योजनावद्ध शहर स्थापना गर्न सकिन्छ । त्यो गर्नुपर्छ । अर्कोतिर हामीसँग भूउपयोग नीति छैन । कृषियोग्य जमिनमा बालुवाले पुरेर घर बनाउने प्रवृत्ति मौलाएको छ । तीन, चार मिटरको बाटो राखेर प्लटिङ गरिएको छ । यि सबै अनप्लाण्ड हुन् । अब यसको अन्त्य गर्नुपर्छ । शहर, व्यवसाय, आवास, कृषिलगायतका कुरालाई भूउपयोग नीति बनाएर ठाउँ छुट्टयाउनुपर्छ । यति गरिसकेपछि मात्रै अरु विकासका काम हुन सक्छन् ।

योजना मात्रै भएर हुँदैन । साधन र स्रोत कसरी जुटाउनुहुन्छ ?
मूल कुरा इच्छाशक्ति हो । चाहने हो भने जे पनि गर्न सकिन्छ । जनतालाई विश्वास दिलाउन सक्ने हो भने अरु देशसँग मागेर साधन र स्रोत जुटाउनु पर्दैन । हामीसँग भएको पुँजीलाई निकाल्न सक्नुपर्छ । निजी क्षेत्रसँग पएको पुँजी प्रयोग गर्नका लागि विश्वास दिलाउन सक्नुपर्छ । निजी क्षेत्रलाई आकर्षण गर्नका लागि नीतिगत सुधार गर्नुपर्छ । कसैले लगाएको पुँजी खेर जाँदैन भन्ने विश्वास दिलाउनुपर्छ ।

देश संघियतामा गएपछि यसलाई व्यवस्थापन गर्न चुनौति छ भनिएको छ । चुनौतिको सामना कसरी गर्नुहुन्छ ?
संघियता लागु भइसक्यो । संघियता महङ्गो छ । तर लागु नै गर्न सकिदैन भनेर भ्रम सृजना गर्नुहुँदैन । नयाँ प्रणालीमा भएका चुनौतिको सामना गर्नका लागि हामी सक्षम छौँ । संघियतालाई सफल बनाउनका लागि सबैको धारणा सकारात्मक हुनु जरुरी छ ।

प्रदेश नम्बर तीनको राजधानी कहाँ उपयुक्त छ ?
राजधानी काठमाण्डौमा हुनुपर्ने कुनै कारण छैन । उपत्यकाभित्रै यो प्रदेशको राजधानी हुँदैन । यसमा सबै निश्चिन्त भए हुन्छ । भन्ने त जे पनि भन्छन् । तर काठमाण्डौका मान्छेलाई कसरी बाहिर पठाउने भनेर हामी चिन्ता गरिरहेका छौँ । बाहिरबाट काठमाण्डौ आउनुपर्ने बाध्यतालाई रोक्नुपर्छ । किनकी अब काठमाण्डौले थप जनसंख्या थेग्न सक्दैन । यस्तो अवस्थामा प्रदेश तीनको राजधानी उपत्यकामै हुनुपर्छ भन्नु हास्यास्पद कुरा हो । बुझेका मन्छेले यो कुरा गर्दैनन् ।

हेटौँडालाई नै स्थायी राजधानी बनाउने हो ?
प्रदेश नम्बर तीनका सासंदहरुलाई हेटौडा आउन समस्या पर्छ भन्नु हास्यास्पद हो । कर्णालीबाट पनि राजधानी काठमाण्डौ आउँथ्यौँ त । अहिले दुई घण्टाको बाटोलाई महाभारत बनाएर टाढा छ भन्नु गलत कुरा हो । अब विस्तारै सबैलाई बानी पर्छ । अब साथीहरुले राजधानी सार्ने कुरा गर्नुहुन्न भन्ने विश्वास छ । अहिले पनि राजधानी अन्तै सार्नुपर्छ भनेर धेरै कुरा उठेको पनि छैन । अहिले अस्थायी राजधानी बनाउँदा मात्रै पनि करोडाँै रुपैयाँ लगानी भइसकेको छ । जे जति चाहिने हो सबै बनिसकेको छ । कतिपय संरचना बनिरहेको छ । अब अन्तै सार्दा फेरी अनावश्यक खर्च हुन्छ । पायक पर्ने भन्ने कुरा त राजधानी जहाँ राखिएन त्यो सबै अपायक भन्न पनि सकिन्छ । त्यसैले अब राजधानी सार्ने कुरा उठ्दैन । सार्नैपर्छ भन्ने मान्यता पनि कसैले राख्नुभएको छैन ।

हेटौडालाई राजधानी बनाउँदा रामेछाप, दोलखा जस्ता जिल्लाका जनतालाई त अपायक नै होला नि ?
प्रदेश राजधानी भनेको जनता दिनदिनै जानुपर्ने कार्यालय होइन । जनतासँग प्रत्यक्ष जोडिने कार्यालय होइन । जनताले प्रत्यक्ष लिनुपर्ने सेवा त स्थानीय तहले नै गर्छ । त्यसैले जनतालाई देखाएर राजधानी अपायक भयो भन्नु उचित छैन । जनतालाई दुःख हुँदैन ।

तपाईले पार्टीकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई पराजित गरेर संसदीय दलको नेता बन्नुभयो । पाटी अध्यक्ष केपी ओलीको समर्थन पाउनुभएको हो ?
सबैको समर्थन थियो ।

अब पार्टीभित्रको व्यवस्थापन कसरी गर्नुहुन्छ ? प्रदेश तीनको संयोजक शाक्य तपाईसँग रुष्ट हुनुहुन्छ ।
लोकतान्त्रिक विधिबाट संसदीय दलको नेता छानिएको हुँ । त्यसैले मसँग रुष्ट भएर सहयोग नगर्ने भन्ने हुँदैन । उहाँलाई केही समय पिडा होला । तर सधैँभरी त्यो आग्रह राख्नुभयो भने त पार्टी चल्दैन । म दलको नेता भएँ, उहाँ पार्टीको सम्मानित नेता हो । म सम्मान गर्छु । दुवैले एकअर्काको हैसियत अनुसार सम्मान गर्नुपर्छ ।

संसदीय दलको नेतामा तपाईको नाम चर्चामा थिएन । तर एकाएक कसरी आउनुभयो ?
म संसदीय दलको नेता बन्ने भन्ने कुरा तीन महिना अगाडि नै सुनिश्चित थियो । धेरै हल्ला नगरेकाले तपाईहरुले थाहा नपाउनुभएको हो । पोर्टफोलियोको हिसाबले अरु सिनियर थिए । त्यसैले उहाँहरुको मात्रै चर्चा भयो । उहाँहरुको बारेमा चर्चा चल्दा मलाई हाँसो उठ्थ्यो । हुने मै थिएँ । म ढुक्क थिएँ । बाहिर हेर्दा मात्रै अचानक आएको जस्तो परेको हो ।



प्रतिक्रिया दिनुहोस्