Logo

एकता नभएसम्म सरकारमा नजाने माओवादीको अडान, ओली नेतृत्वको सरकार बहुमत कि अल्पमतको ?



माघ २८, काठमाण्डौ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबिचको एकता धरापमा परेसँगै नयाँ सरकारको सत्ता समिकरण फेरबदल हुन सक्ने देखिएको छ ।
पार्टी एकता गरेर बहुमतको सरकार बनाउने भनेका एमाले र माओवादीबिच पछिल्लो सयम तिक्तता बढ्दै गएपछि नयाँ सरकार निर्माण पनि प्रभावित हुन लागेको हो ।

माओवादीले सरकार गठनभन्दा अघि नै पार्टी एकताको मोडालिटी स्पष्ट हुनुपर्ने अडान राखेपछि एमाले अप्ठ्यारोमा परेको छ । माओवादीले पार्टी एकता सम्माजनक रुपमा हुनुपर्ने भन्दै एकीकृत पार्टीको अध्यक्ष प्रचण्डलाई बनाउनुपर्ने आशय व्यक्त गर्दै आएको छ ।

एमालेले भने प्रचण्डलाई अध्यक्ष दिन सकिरहेको छैन ।
पार्टी एकता नभए माओवादी सरकारमा नजाने, माओवादी सरकारमा नगएको अवस्थामा एमालेसँग बहुमत नहुने भएपछि प्रधानमन्त्री बन्न तयार भएका केपी ओली समस्या पर्ने निश्चित छ ।

यस्तो अवस्थामा एमालेले राजपा र फोरमलाई साथ लिएर सरकार बनाउने बाटो खुला छ । तर संविधान संशोधनका लागि एमाले तयार नभएसम्म उसको नेतृत्वका सरकारमा नजाने फोरमले बताउँदै आएको छ ।
राजपाले त एमालेसँग सहकार्य गर्ने कुरार्ला अहिलेसम्म टाढै राखेको छ ।

अर्कोतिर माओवादी सरकारमा नजाने अवस्थामा फोरम पनि अघि बढ्न नसक्ने अनुमान गरिएको छ ।
ओलीलाई बहुमतको सरकारको नेतृत्व गर्नका लागि कांग्रेसलाई सरकारमा सहभागि गराउने विकल्प खुला छ । तर कांग्रेस अहिले सरकारमा सहभागि हुने सम्भावना लगभग छैन ।

यस्तो अवस्थामा एमालेले तत्कालका लागि अल्पमतको सरकारको नेतृत्व गर्नुपर्ने अवस्था आउन सक्छ ।
तर कुनै बोल्ड निर्णय गरेर एमाले अध्यक्ष ओलीले माओवादीसँग पार्टी एकता तत्काल गर्ने बाटो खोले भने सबैभन्दा सहज परिस्थिती निर्माण हुन्छ ।



प्रतिक्रिया दिनुहोस्