Logo

शान्ति स्थापना र राष्ट्रिय सुरक्षामा नेपाली सेनाको भूमिका महत्वपूर्ण : मन्त्री प्रधान



काठमाडौँ, २८ माघ (रासस) : रक्षामन्त्री भीमसेनदास प्रधानले संयुक्त राष्ट्रसंघीय शान्ति स्थापना र राष्ट्रिय सुरक्षामा नेपाली सेनाको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ ।

‘आर्मी कमाण्ड एण्ड स्टाफ कलेज’ शिवपुरीमा आज आयोजित ‘अपरम्परागत सैनिक भूमिकामा नेपाली सेनाको सोच कस्तो हुनुपर्छ ?’ विषयक विज्ञसँगको छलफल कार्यक्रममा उहाँले राष्ट्रिय सुरक्षाका अतिरिक्त विकास निर्माण, प्राकृतिक एवं ऐतिहासिकस्थलको संरक्षणमा पनि असरदार योगदान गरेको बताउनुभयो ।

“राष्ट्रिय अखण्डता र सार्वभौमसत्तालाई बलियो बनाउने गरी सेनाले संवैधानिक व्यवस्था बमोजिम अन्य काम पनि गर्नुपर्छ, ती कामले सेनाको प्रमुख उद्देश्य पूरा गर्न सहयोग गरोस्”–उहाँले भन्नुभयो ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा स्वर्णिम वाग्लेले सडक सञ्जालले नछोएका हुम्ला र डोल्पामा ट्र्याक खोल्न गरेको काम अविस्मरणीय रहेको बताउनुभयो । “प्रकोप व्यवस्थापन, निकुञ्ज, वन, सम्पदालगायत संरक्षणमा पनि सेनाले खेलेको भूमिका प्रशंसनीय छ, जलवायु, ऊर्जाको संरक्षणमा पनि सेनाले काम गर्न सक्छ”–उहाँले भन्नुभयो ।

प्रधानसेनापति राजेन्द्र क्षत्रीले संवैधानिक रुपमा दिइएका कर्तव्य पालना गरिने प्रतिबद्धता जनाउनुभयो । राष्ट्र संघका लागि पूर्वस्थायी प्रतिनिधि डा जयराज आचार्य, पूर्वसचिव मधुरमण आचार्य, दक्षिण एसियाली सहयोग संगठन (सार्क) का पूर्वमहासचिव अर्जुनबहादुर थापा, डा खड्ग केसी, उपरथी (मेजर जेनरल) प्रह्लाद थापा, पूर्वउपरथी पूर्णबहादुर सिलवाल, जगदीशचन्द्र पोखरेल, देवेन्द्रबहादुर मेघासी, समीर शाही, नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक बमबहादुर भण्डारीलगायतले सेनाको उद्देश्य पूर्ति हुनेगरी अपरम्परागत काममा पनि खटाइनुपर्नेमा जोड दिनुभयो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot