इटहरी, २८ माघ (रासस) : अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले करदातालाई सहजरुपमा कर तिर्नका लागि देशका विभिन्न स्थानमा करदाता सेवा कार्यालय सञ्चालनमा ल्याइने बताउनुभएको छ ।
इटहरीमा आन्तरिक राजश्व कार्यालयअन्तर्गत करदाता सेवा कार्यालय भवनको आज उद्घाटन गर्दै उहाँले मन्त्रालयले चाँडै नै सुनसरी सदरमुकाम इनरुवामा पनि करदाता सेवा कार्यालय निर्माण गर्ने तयारी गरिरहेको जानकारी दिनुभयो ।
आन्तरिक राजश्व विभागका महानिर्देशक किशोरजंग कार्कीले राजश्व संकलनमा मन्त्रालयले तोकेको जिम्मेवारीलाई इमान्दारितापूर्वक सम्हाल्न विभागले विशेष ढंगले काम गरिरहेको बताउनुभयो ।
सो अवसरमा करदाता सेवा कार्यालय, इटहरीका प्रमुख भोगी राईले रु दुई करोड ८४ लाखको लागतमा दुई कठ्ठा क्षेत्रफलमा निर्माण गरिएको सो भवनमा तीन तला र १७ कोठा रहेको जानकारी दिनुभयो । प्रमुख राईले यस कार्यालयअन्तर्गत आयकरमा रु २२ हजार ७१२, मूल्य अभिवृद्धि करमा रु दुई हजार ५१९ र अन्तःशुल्कमा रु एक हजार ३४९ करदाता रहेको जानकारी दिनुभयो ।
त्यस्तै, व्यक्तिगत पान नम्बर लिनेको संख्या पाँच हजार ४९८ रहेको जानकारी दिँदै उहाँले चालु आवमा रु एक अर्ब ९४ करोड ११ लाख ५५ हजार राजश्व सङ्कलन गर्ने लक्ष्य तोकिएको बताउनुभयो ।
यसैबीच, अर्थमन्त्री कार्कीले आज सुनसरीको कोशी गाउँपालिकाको लौकहीस्थित खुनियाधारमा बीस बिघा जमिन क्षेत्रमा स्थापना गरिएको प्रादेशिक राष्ट्रिय आयुर्वेदिक अनुसन्धान प्रविधि तथा तालीम केन्द्रको उद्घाटन गर्नुभयो ।
उहाँले रु एक अर्ब लगानी रहेको तालीम केन्द्र सञ्चालनमा आएपछि प्रदेश नं १ का सम्पूर्ण नागरिकले आयुर्वेदिक औषधि सुलभरुपमा प्राप्त गर्ने र उपचारमा पनि विश्वसनीय सेवा उपलब्ध हुने विश्वास सरकारले लिएको बताउनुभयो ।
कार्यक्रममा केन्द्रका कार्यकारी निर्देशक डा सिद्धार्थ ठाकुरले शाखा स्थापनाले प्रदेश नं १ मा आयुर्वेदसम्बन्धी चिकित्सकीय सेवासहित यस प्रदेशमा रहेका जडीबुटीको अध्ययन र अनुसन्धानका लागि पनि कोशेढुङ्गा सावित हुने बताउनुभयो ।