Logo

मेरो उपचार नेपालमै हुने भए राज्यको पैसा लिन्थिन : मन्त्री प्रधान



माघ २९, काठमाण्डौ । उपचार खर्चका नाममा रक्षामन्त्री भीमसेन दास प्रधानलाई सरकारले पैसा दिने निर्णय गरेपछि यसका चर्चा चुलिएको छ । विगतमा अरु नेताहरुलाई पनि सरकारले करोडौँ रुपैयाँ रकम विभिन्न शीर्षकमा बाँड्दै आएको छ ।

यसैको निरन्तरतामा मन्त्री प्रधान पनि परेका हुन् । मन्त्री प्रधानलाई मन्त्रीपरिषदले २५ लाख रुपैयाँ दिने निर्णय गरेको छ ।
कांग्रेस नेता प्रधान मुटुरोगबाट पीडित छन् । ७ वर्षअघि हृदयघात भएपछि दुई दिनसम्म अचेत भएका थिए प्रधान । त्यतिबेला थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार गराएका प्रधान भाग्यले बाँचेका थिए ।

उनको मुटुसँग जोडिएको रक्तनलीमध्ये दुईवटा पुरै टालिएको छ, एउटाले मात्र सामान्य काम गरेको छ । शहीद गंगालाल हृदयरोग केन्द्रका चिकित्सक डा.अरुण मास्केले उपचारका लागि जापान जान सुझाव पनि दिएका थिए ।

तर, सरकारले दिएको लाखौंको उपचार खर्च न उनले मागेका थिए न त उपचारमा जाने कुनै योजना नै थियो । विभिन्न व्यक्तिहरुलाई पैसा दिने क्रममा प्रधान पनि अस्वस्थ भएको र उपचारको खाँचो रहेको थाहा भएपछि मन्त्रीपरिषदले प्रधानलाई पैसा दिने निर्णय गरेको हो ।

आलोचना हुने डरले सरकारसँग पैसा नमागेको बताउँदै प्रधानले आफूसँग उपचारका लागि लाग्ने रकम नभएको स्पष्ट पारेका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा कुरा गर्दै प्रधानले आफूसँग पैसा र अन्य भौतिक सम्पत्ति पनि नभएको दाबी गरे ।

“म काठमाण्डौको मध्यम परिवारको सदस्य हुँ । म प्राध्यापन पेशाबाट राजनीतिमा आएको हुँ ।” प्रधानले भने ।

मन्त्री प्रधानमन्त्री काठमाडौंका रैथाने हुन् । उनले मन्त्री भएपछि बुझाएको सम्पत्ति विवरणमा पनि ७ थान हिरा, २० तोला सुन र ७ केजी चाँदी रहेको उल्लेख छ ।

“नेपालमै उपचार हुने भएको भए पैसा लिन्थिन । जापान गएर उपचार गर्नुपर्नेभयो । त्यसका लागि मसँग पैसा छैन ।” उनले भने ।



प्रतिक्रिया दिनुहोस्