Logo

प्रचण्डको उद्धघोष : फेरी प्रधानमन्त्री बन्छु (भिडियोसहित)



काठमाडौं, फागुन १ गते । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफू ढिलो चाँडो प्रधानमन्त्री बन्ने उद्धघोष गरेका छन् । गृहजिल्ला चितवनमा आयोजित एक कार्यक्रममा प्रचण्डले भने, ‘अहिले टुंगिएको त छैन । तर, ढिलो छिटो प्रधानमन्त्री भएर आउँछु ।’

कांग्रेस प्रतिनिधिले प्रचण्डलाई प्रधानमन्त्री भएर आउन शुभकामना दिएका थिए । आलोपालो प्रधानमन्त्री हुने एमाले र माओवादीको सहमतितर्फ संकेत गर्दै उनले ढिलो छिटो आफू सरकार प्रमुख हुने बताए । प्रचण्डले थपे, ‘म तुरुन्तै प्रधानमन्त्री भए पनि वा अलि ढिला भएपनि तपाईंहरुकै साथमा रहनेछु ।’

यस्तै आज नेकपा माओवादी केन्द्रको मुख्यालय पेरिसडाँडामा आयोजित ‘२३ औं जनयुद्द दिवस’को अवसरमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले समृद्धि र समाजवादको निर्माण गर्ने असाधारण ऐतिहासिक अवसर रहेको बताउँदै सबै कम्युनिष्टहरुलाई एउटै केन्द्रमा समाहित हुन आव्हान गर्नुभएको हो ।

https://youtu.be/JJhCNZaqavY

उनले सबै कम्युनिष्टहरुलाई एउटै कम्युनिष्ट केन्द्रमा सामेल हुन आव्हान गरेका छन् । ‘अहिले समृद्धि र समाजवादको आधार तयार गर्ने ऐतिहासिक असाधारण अवसर हाम्रा सामु छ ।’ अध्यक्षले भने,“लहड र रहरले क्रान्ति हुन्न, त्यसो हुने भए हामीले २०४६ साल अघि नै जनयुद्द शुरु गरिसक्थ्यौं, त्यसैले वैद्य, विप्लवलगायत सबै कम्युनिष्टहरुलाई इतिहासको आवश्यकता बुझेर महान एकता प्रक्रियामा सहभागी हुन आव्हान गर्दछु । सवै कम्युनिष्टहरु एक ठाउँमा नआएसम्म समाजबाद स्थापना हुन नसक्ने भन्दै अध्यक्ष प्रचण्डले भने,“विप्लव जी, वैद्य जीहरुले द्वन्द्वात्मक भौतिकवादलाई यथार्थमा बुझ्न विशेष अपील गर्दछु । माओले मास लाइनको कुरा गर्नुहुन्थ्यो, अहिले नेपाली जनताले के चाहेका छन्, त्यो बुझेर एकतामा आउन आव्हान गर्न चाहन्छु । यो मेरो अपील मात्रै होइन, विशेष अपील पनि हो ।”

समाजवादका लागि झन ठूलो जनताको साथ र शक्ति आवश्यक हुन्छ । त्यो शक्ति सञ्चय गरेर अघि बढन नेपालका सबै कम्युनिष्टहरु एक बन्नु जरुरी छ । अहिलेको ऐतिहासिक बस्तुगत अवस्था यही हो ।

२०४६ साल अगाडि नै हतियार जम्मा गरेर क्रान्तिको तयारी गर्ने भएपनि त्यतिखेर आम जनता भने पञ्चायतविरोधी आन्दोलनको मनस्थितिमा रहेकोले छापामार युद्द सञ्चालन गरे पञ्चायतलाई नै सहयोग पुग्ने निश्कर्षमा पुगेर जनआन्दोलनमा सहभागी भएको प्रचण्डले बताए । “त्यतिखेर म पार्टीको महामन्त्री थिए र युद्दको प्राविधिक तयारीको जिम्मेवारी पनि मेरो नै थियो ।” अध्यक्षले भने, “तर हामीले बस्तुगत अवस्थाको विश्लेषण गर्दा नयाँ जनवादी क्रान्ति सुरु गर्दा पञ्चायतलाई नै फाइदा पुग्ने हामीलाई लाग्यो । जनताको चाहना पञ्चायत फाल्ने थियो । हामी संयुक्त आन्दोलनमा होमियौं ।”

२०४६ पछि पाँच वर्ष संसदीय व्यवस्थाको उपयोग गरेर जनयुद्दको शुरुआत गर्नु आत्मगत र बस्तुगत दृष्टिकोणले वैज्ञानिक थियो भन्दै अध्यक्षले त्यतिखेर संसदीय व्यवस्थाको उपयोग गरेर जनयुद्दको आधार तयार पारेको बताए । “म सबैलाई स्मरण गराउन चाहन्छौं, हामी त्यतिखेर पनि संसदवादमा फसेनौं । इतिहासमा सधैं अगाडि बढेर मात्रै क्रान्ति हुँदैन । कतिपय अवस्थामा पछाडि हटेर पनि अगाडि बढनुपर्छ । यसो गरिएमात्रै क्रान्ति सफल हुन्छ ।” अध्यक्षले भने,“अहिले हामी फेरी त्यही अवस्थामा छौं, तर अब समाजवादी क्रान्तिको अभिभारा हाम्रा अगाडि आएको छ । समाजवादका लागि झन ठूलो जनताको साथ र शक्ति आवश्यक हुन्छ । त्यो शक्ति सञ्चय गरेर अघि बढन नेपालका सबै कम्युनिष्टहरु एक बन्नु जरुरी छ । अहिलेको ऐतिहासिक बस्तुगत अवस्था यही हो ।” अध्यक्षले भने ।

इतिहासको यही आवश्यकतालाई बोध गरेर नेकपा एमालेसँग पार्टी एकता भइरहेको बताउँदै अध्यक्ष प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली समाजको राजनीतिक, सामाजिक, आर्थिक रुपान्तरणमा जनयुद्दको विशेष भूमिका रहेको कुरा बुझ्नुभएको बताए । अध्यक्षले भने,“सम्भवतः हामी ऐतिहासिक जनयुद्दकै दिन पार्टी एकता टुंगोमा पुर्याउने कोशीसमा छौं ।”

२०४८ सालको संसदीय निर्वाचन उपयोग गर्दा र पछि जनयुद्द सञ्चालन गर्दा समेत बिभिन्न कोणबाट आलोचना भएको स्मरण गर्नुहुँदै अध्यक्ष प्रचण्डले द्वन्द्वात्मक भौतिकवादी दृष्टिकोणबाट बस्तुगत यथार्थलाई बुझेर सोही अनुरुप अगाडि बढन सक्नुपर्ने बताए । जनयुद्द ६ महिना या १ वर्षमा नै सकिन्छ भन्ने र संसदवादमा गएर टुंगिन्छ भन्नेहरु गलत साबित भएको वहाँले बताए ।

त्यतिखेर जनयुद्द समाप्त पार्न र अहिले कम्युनिष्ट एकताको महान अभियान बिथोल्न संसारभरिका प्रतिक्रियावादीहरु सक्रिय भएको बताउनुहुँदै अध्यक्ष प्रचण्डले सबै वामशक्तिहरु एक ठाउँमा हुने अवस्थामा नेपालमा समाजवाद निर्माण र समृद्धिको आधार तयार गर्न सकिने बताए । सम्बोधन अघि जनयुद्द दिवस समारोहको उद्घाटन गर्नुहुँदै अध्यक्ष प्रचण्डले २३ किलोको केक काटेका थिए ।

नेकपा माओवादी केन्द्रका अधिकांश केन्द्रीय नेता सहभागी कार्यक्रममा नेक्रबिक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबाट सयबढी नेता तथा कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका थिए ।

नव प्रवेशीहरुले नेपाली क्रान्तिको कार्य्दिशा र बाटोलाई प्रचण्डले मात्रै व्याख्या गर्न सक्ने बताउँदै समाजवादी क्रान्तिको कार्य्दिशामा होमिन आफूहरुले माओवादी केन्द्रमा प्रवेश गर्ने निर्णय लिएको बताएका थिए ।



प्रतिक्रिया दिनुहोस्