Logo

प्रचण्डको फड्को कता-प्रधानमन्त्री कि अध्यक्ष ?



माओवादी केन्द्रका अध्यक्षले दैनिकजसो राजनीतिक वृत्तमा तरङ्ग ल्याउने अभिव्यक्ति दिइरहँदा मङ्गलबार चितवन पुगेर आफू प्रधानमन्त्री बन्ने दाबी गरे । गृहजिल्ला चितवन पुगेर केही न केही बोलेर चर्चामा आउने गरेका प्रचण्डले नेकपा एमाले र माओवादी केन्द्रबीचको सम्भावित एकतामा आशंका बढाउने गरी अभिव्यक्ति दिएका हुन् ।

एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री बन्ने निश्चितप्रायः भइरहँदा प्रचण्डले आफू प्रधानमन्त्री बन्ने दाबी गर्नुले वाम एकता टर्ने सम्भावना बढेको हो । एकीकृत पार्टीको अध्यक्ष दाबी गरिरहेका प्रचण्डले ओलीलाई प्रधानमन्त्रीका लागि निशर्त सघाउने छाँट देखिदैन । प्रधानमन्त्री र अध्यक्षमध्ये एक पद बाँडफाँड हुनुपर्ने माओवादी पक्षको अडान उसका नेताहरूको सार्वजनिक अभिव्यक्तिबाट प्रकट भइरहेको छ । प्रचण्डले निकटस्थसँगको छलफलमा समेत आफू अध्यक्ष बन्ने निश्चित भएमात्र ओलीलाई प्रधानमन्त्रीका लागि सघाउने बताउने गरेको बुझिएको छ ।

एमालेभित्र ओली नै अध्यक्ष बन्नुपर्ने जोडबल देखिइरहेको छ । पछिल्लो समय ओली र प्रचण्ड दुवै सहअध्यक्ष हुनेगरी सहमति बनेको चर्चा समेत चल्यो । तर, प्रचण्ड यतिसम्म लचिलो हुँदैनन् भन्ने उनले फड्को मार्न सक्ने अभिव्यक्ति दिएबाट बुझ्न सकिन्छ । फड्कोको मतलब प्रचण्ड वाम एकताबाट टाढिएर प्रधानमन्त्री बन्न अग्रसर हुनसक्छन् ।

नेपाली काँग्रेसले अनौपचारिक तवरले प्रचण्डलाई प्रधानमन्त्री बन्न प्रस्ताव गर्दै आएको छ । काँग्रेस सभापति शेरबहादुर देउवा निकट नेताहरूले पाँच वर्ष प्रधानमन्त्री बन्न तयार रहन प्रचण्डलाई आग्रह गर्दै आएका छन् । तर, प्रचण्डले त्यसबारे प्रष्ट मुख खोलेका छैनन् । संसदमा काँग्रेसको समर्थनले मात्र प्रधानमन्त्री बन्न सक्ने अंक छैन । काँग्रेससहित मधेश केन्द्रित दलहरूको समेत समर्थन भएमा प्रचण्ड प्रधानमन्त्री बन्न सक्छन् । यो सम्भावना नकार्न सकिने अवस्था छैन ।

वाम एकताको पहल भइरहँदा प्रचण्डले दिइरहेको अभिव्यक्तिले राजनीतिले अर्को कोर्स लिने छाँट देखिदैछ । उनले फड्को मार्छु भन्नु र प्रधानमन्त्री बन्छु भन्नुलाई चेतावनी मात्र सम्झनु भुल हुन सक्छ । रणनीतिक चार्तुयता देखाउँदै जनयुद्धमार्फत् सत्ताको ढोका खोलेका उनी कुनै समय निकै कमजोर समेत ठानिएका थिए । पुनः शक्ति संचय गर्दै बिघटनको संघारमा पुगिसकेको पार्टीमा रक्तसंचार गर्दै तेस्रो शक्ति बन्न सके ।

प्रचण्ड संसदको अंकगणितका हिसाबले तेस्रो बलिया नेता छन् । तर, नेपाली राजनीतिलाई एउटा दिशा दिन सक्ने अस्त्र उनको हातमा पुगेको छ । यस हिसाबले प्रचण्डलाई सबैभन्दा शक्तिशाली नेता भन्दा अनुपयुक्त हुँदैन । प्रचण्डले बोल्ने अभिव्यक्तिले मात्र तरङ्ग ल्याउँछ । उनले के कदम चाल्छन् राष्ट्रिय अन्तर्राष्ट्रिय चासोको विषय बनेको छ ।

प्रचण्डले कुनै न कुनै फड्को मार्ने पक्का छ । एउटा फड्कोले उनलाई देशको सबैभन्दा ठूलो दलको अध्यक्ष बनाउँछ भने अर्को फड्कोले देशको तेस्रो शक्तिको अध्यक्ष कायमै राखेर प्रधानमन्त्रीको पदमा पु¥याउन सक्छ । यसकारण पनि प्रचण्ड नेपाली राजनीतिमा हालीमुहाली देखिदैछन् । खाएपनि नखाएपनि बाघको मुख रातो ! प्रचण्ड प्रधानमन्त्री बनेपनि नबनेपनि देशका वर्तमान नेताहरूभन्दा सबैभन्दा शक्तिशाली नेताको उचाई बनाउन सक्ने भएका छन् ।



प्रतिक्रिया दिनुहोस्