Logo

उप्रप्रधानमन्त्री थापा मन्त्रालयबाट बिदाइ



काठमाडाँै, २ फागुन (रासस) : उपप्रधानमन्त्री कमल थापाले ऊर्जा र शहरी विकास मन्त्रालयको जिम्मेवारीबाट आज औपचारिकरुपमा बिदाइ लिनुभएको छ ।

ती दुवै मन्त्रालयमा आज आयोजित बेग्लाबेग्लै कार्यक्रममा उहाँको बिदाइ गरिएको हो । ऊर्जा मन्त्रालयमा आयोजित बिदाइ कार्यक्रममा उपप्रधानमन्त्री थापाले मुलुकको विकासमा आफ्नो कार्यकालमा महत्वपूर्ण निर्णय भएको दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो– “मन्त्रालयमा आउँदा मैले आफ्नो मर्यादा र सीमा बुझेको थिए, धेरै महत्वकांक्षी थिएन, बूढीगण्डकीजस्तो राष्ट्रिय गौरवको आयोजना नेपाली पूँजीमा निर्माण गर्नेजस्ता ऊर्जा क्षेत्रको विकासमा महत्वपूर्ण निर्णय र कार्य योजना तयार भएका छन् ।”

ऊर्जा मन्त्रालयका सचिव अनुप शर्मा र शहरी विकास मन्त्रालयमा सचिव जीतेन्द्रनाथ शर्माले उपप्रधानमन्त्री थापाको बिदाइ गर्दै उहाँको कार्यकालमा कुनै राजनीतिक दबाब र प्रभाव झेल्नु नपरेको भनी सन्तोष व्यक्त गर्नुभयो ।

वर्तमान सरकारका प्रधानमन्त्री शेरबहादुर देउवाबाट एक दुई दिनभित्रै राजीनामा आउने चर्चा चलेको बेला उपप्रधानमन्त्री थापाले आज आफूले जिम्मेवारी सम्हाल्नुभएको मन्त्रालयबाट बिदाइ हुनुभएको हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot