Logo

निर्वाचन आयोगले बुझायो राष्ट्रपतिसमक्ष सम्पूर्ण मतपरिणाम



काठमाडौं, २ फागुन :  निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनको सम्पूर्ण परिणाम राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको छ ।

आयोगका पदाधिकारीहरुले राष्ट्रपति विद्या भण्डारीलाई राष्ट्रपति भवन शीतल निवासमा बुधबार साँझ भेटगरी प्रतिनिधिसभा निर्वाचनको सम्पूर्ण मत परिणाम बुझाएका हुन ।

प्रतिनिधिसभा समानुपातिकतर्फका उम्मेदवारहरुको नामावली दलहरुले बुझाएलगत्तै आयोगले आजै सम्पूर्ण परिणाम राष्ट्रपतिलाई बुझाएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

प्रतिनिधिसभा समानुपातिकतर्फ एमालेले ४१, काँग्रेसले ४०, माओवादी केन्द्रले १७, राष्ट्रिय जनता पार्टी, नेपाल र संघीय समाजवादी फोरम, नेपालले ६/६ सिट संख्या बाँडफाँड गरिएको थियो ।

सोही सिटमा सवैधानिक व्यवस्था अनुसार दलहरुले आ–आफ्नो अन्तिम सूचि पेश गरेलगत्तै आयोगले ती उम्मेदवारहरुलाई विजयी भएको घोषणा समेत गरेको थियो । निर्वाचन आयोगले प्रतिनिधिसभाको सम्पूर्ण निर्वाचन परिणाम राष्ट्रपति समक्ष पेश गरेलगत्तै नयाँ सरकार गठन प्रक्रिया सुरु हुने संवैधानिक व्यवस्था छ ।

आयोगका पदाधिकारीको टोलीले राष्ट्रपति भण्डारीसमक्ष प्रत्यक्षतर्फ १६५ र समानुपातिकतर्फ ११० विजयी उम्मेदवारको नामसहितको प्रतिवेदन बुझाएको हो ।

प्रतिवेदन ग्रहण गर्दै राष्ट्रपति भण्डारीले निर्वाचन स्वतन्त्र, स्वच्छ र शान्तिपूर्ण वातावरणमा सम्पन्न गरेकामा आयोगका पदाधिकारीलाई धन्यवाद ज्ञापन गर्दै बधाई दिएकि थिईन् ।

राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन पनि सफलताका साथ सम्पन्न गराउने जिम्मेवारीलाई पूरा गर्न राष्ट्रपतिबाट निर्देशन भएको प्रमुख निर्वाचन आयुक्त डा अयोधी प्रसाद यादवले बताए ।

सो अवसरमा आयोगले आफ्नो तर्फबाट संविधान र कानूनले दिएको निर्वाचनको जिम्मेवारीलाई स्वतन्त्र, स्वच्छ, निश्पक्ष ढंगबाट गराउन कुनै कसर बाँकी नराखेको जानकारी गराएको थियो ।

निर्वाचन आयुक्तहरु इला शर्मा, नरेन्द्र दाहाल, इश्वरीप्रसाद पौड्याल र सुधीरकुमार शाह तथा अयोगका सचिव बेगेन्द्र शर्मा पौड्यालसमेत सो अवसरमा उपस्थित थिए ।

 



प्रतिक्रिया दिनुहोस्