Logo

ओलीलाई प्रधानमन्त्री नियुक्त गर्न राष्ट्रपतिलाई पत्र



काठमाडौँ, ३ फागुन (रासस) : वाम गठबन्धनले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रधानमन्त्रीमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई नियुक्त गर्न दाबीपत्र प्रस्तुत गरेको छ ।

एमालेका अध्यक्ष ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हस्ताक्षर गर्नुभएको सो पत्र केहीबेर अघि राष्ट्रपति कार्यालय, शीतल निवासमा बुझाइएको हो ।

गत मंसिर १० र २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनको अन्तिम परिणाम बुधबार निर्वाचन आयोगले राष्ट्रपतिसमक्ष बुझाएपछि नयाँ सरकार गठनको प्रक्रिया शुरु भएको हो ।

दुवै दलका अध्यक्षले हस्ताक्षर गरेको सो पत्रमा नेपालका संविधानको धारा ७६ (२) बमोजिम बहुमतका आधारमा प्रधानमन्त्री नियुक्त गर्न उल्लेख गरिएको छ । २७५ सदस्यीय प्रतिनिधिसभामा एमालेको १२१ र केन्द्रको ५३ सदस्य छन् ।

उहाँहरुको दाबीपत्र आएपछि प्रधानमन्त्री नियुक्ति र शपथ ग्रहणको कार्यक्रम तय हुने राष्ट्रपतिका सञ्चारविज्ञ माधव शर्माले जानकारी दिनुभयो । भेटका अवसरमा अध्यक्षद्वयका साथै एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र केन्द्रका नेता नारायणकाजी श्रेष्ठ पनि सहभागी हुनुहुन्थ्यो ।

आजै शपथको सम्भावना

राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले नयाँ प्रधानमन्त्रीको सकेसम्म आजै ४ बजे शपथ ग्रहण हुने सम्भावना रहेको बताउनुभयो । सरकार गठनको प्रक्रिया अघि बढेकाले राष्ट्रपतिको पाथीभरा महोत्वसमा जाने आजको कार्यक्रम स्थगन भएको छ ।



प्रतिक्रिया दिनुहोस्