Logo

प्रधानमन्त्री ओलीको घोषणा : २ वर्षभित्र सबै गाउँ/नगरपालिकामा प्राविधिक शिक्षालय स्थापना गर्छु, ५ निर्णयमा हस्ताक्षर



काठमाडौं, ३ फागुन । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी २ वर्षभित्र सबै गाउँपालिका र नगरपालिकामा प्राविधिक शिक्षालय स्थापना गर्ने घोषणा गरेका छन्।

बिहिबार साँझ सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा पदभार ग्रहण गरेलगत्तै संचारकर्मीहरुसँग बोल्दै प्रधानमन्त्री ओलीले सबै गाउँपालिका र नगरपालिकामा सिटीईभिटीबाट मान्यता प्राप्त प्राविधिक शिक्षालय स्थापना गर्ने घोषणा गरेका हुन्।

प्रधानमन्त्री ओलीले संघीय संसदको भवन पनि २ वर्ष भित्रै निर्माण गर्ने योजना अघि सारे। संसदका सम्पूर्ण गतिविधि सञ्चालन हुने गरी २ वर्ष भित्र भवन निर्माण गर्न भोलिबाटै काम सुरु गर्ने उनको योजना छ। प्रधानमन्त्री ओलीले लोकतान्त्रिक मूल्यमान्यता बमोजिम जनताको इच्छा, आकांक्षा र आवश्यक्ता पूरा हुने गरी आफूले शासन सञ्चालन गर्न प्रतिवद्धता पनि व्यक्त गरे।

प्रधानमन्त्री ओलीले पदभार ग्रहण गरेलगत्तै समृद्ध नेपाल र सुखी नेपाली बनाउन सबै तहको सरकारलाई जनमुखि, प्रभावकारी र सवल रुपमा संचालन गर्नेलगायतका ५ वटा निर्णयमा हस्ताक्षर पनि गरे।

जसमा आर्थिक समृद्धिका लागि कृषिको व्यवसायीकरण, शिक्षा, स्वास्थ्य, खानेपानीको आपूति व्यवस्थामा जोड दिने उल्लेख गरिएको छ । प्रधानमन्त्री ओलीले बाह्य लगानीका लागि अनुकूल वातावरण निर्माण गर्न आफूले प्राथमिकता दिने पनि बताए। उनले भ्रष्टाचार नियन्त्रणका लागि शुन्यसहनशीलताको नीति लिने पनि स्पष्ट पारे।



प्रतिक्रिया दिनुहोस्