Logo

ओली-मोदीको एउटै प्रतिबद्धता, विकास र सम्बन्ध प्राथमिकता



फागुन ४, काठमाण्डौ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र विदेशमन्त्री सुश्मा स्वराजले नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाई तथा शुभकामना दिएका छन् ।

भारतीय प्रधानमन्त्री मोदीले हिजो राति साँढे १० बजे टेलिफोन गरेर प्रधानमन्त्री ओलीलाई सफल कार्यकालको शुभकामना दिएको नेपालका लागि भारतीय राजदुत मञ्जिवसिंह पुरीले पत्रकार ऋषि धमलालाई जानकारी दिए । टेलिफोन संवादमा मोदीले आफू नेपालको समग्र आर्थिक विकासको पक्षमा रहेको बताएका थिए ।

मोदीको भनाई उद्धृत गर्दै स्रोतले भन्यो,“तपाईको कार्यकालमा नेपालमा आर्थिक प्रगति र उन्नति होस्, त्यसको लागि भारत जस्तोसुकै सहयोग गर्न तयार छ । र तपाईसँग मिलेर सहकार्य गरी नेपालमा विकासको क्षेत्रमा विशेष सहयोग गर्न तयार छु ।”

प्रतिउत्तरमा प्रधानमन्त्री ओलीले आफ्नो दुईवटा एजेण्डा रहेको बताउँदै नेपालको विकास र समृद्धिलाई अघि बढाउँदै नेपाल भारतबीचको मैत्रीपूर्ण सम्बन्धलाई प्रगाढ र सुमधुर बनाउने रहेको बताएका थिए ।

ओलीले मोदीसँगको सम्बादमा भनेका थिए,“नेपालको आर्थिक विकासमा भारतको विगतदेखि नै सहयोग रहँदै आएको छ । अब सहयोग अझै बढ्ने विश्वास मैले लिएको छु ।”

टेलिफोन सम्वादमा मोदीले प्रधानमन्त्री ओलीलाई भारत भ्रमणको निम्ता दिदै स्वागत गर्न प्रतिक्षारत रहेको पनि बताएका थिए ।

त्यसैगरी ओलीले पनि मोदीलाई नेपाल भ्रमणका लागि निम्तो दिएका छन् । ओलीले जनकपुर र मुक्तिनाथ भ्रमणका लागि आउन मोदीलाई निम्तो दिएका हुन् ।

दुवै प्रधानमन्त्रीले एक अर्काको भ्रमणको निम्तोलाई स्विकार गर्दै उचित समयमा भ्रमणमा आउने/जाने बचनवद्धता व्यक्त गरेका थिए । दुई देशबीचको सम्बन्धलाई प्रगाढ र सुमधुर बनाएर लैजान आफू प्रतिबद्ध रहेको ओलीले मोदीलाई बताएका थिए ।

ओली र मोदीबिचको टेलिफोन वार्ता अत्यन्तै सकारात्मक र सौहार्दतापूर्ण भएको राजदुत पुरीले धमलालाई जानकारी दिए । बिहीबार साँझ नै मोदीको शुभकामनापत्र लिएर पुरी ओलीको नीजी निवास भक्तपुरस्थित् बालकोट पुगेका थिए । त्यसैबीच प्रधानमन्त्री मोदी र भारतीय विदेशमन्त्री सुष्मा स्वराजले ओलीसँग टेलिफोन सम्वाद गरेका थिए ।

विदेशमन्त्री स्वराजले पनि ओलीलाई बधाई दिदै ओलीको कार्यकालमा दुई देशबीचको सम्बन्ध प्रगाढ र सुमधुर बन्ने विश्वास व्यक्त गरेकी थिइन् । स्वराजको भनाई उद्धृत गर्दै स्रोतले भन्यो,“तपाईको कुशल नेतृत्वमा अब नेपालले आर्थिक समृद्धि हाँसिल गर्नेछ, त्यसमा भारतको सक्दो सहयोग रहने कुरा विश्वास दिलाउन चाहन्छु ।”

प्रधानमन्त्री ओली निकट सुत्रले जानकारी दिएअनुसार हिजो राति प्रधानमन्त्री मोदीको शुभकामना लिएर बालकोट पुगेका राजदुत पुरीको प्रधानमन्त्री ओलीले प्रंशसा गरेका थिए ।

शुभकामना पत्र लिएर बालकोट पुगेका राजदुत पुरीको कामको प्रशंसा गर्दै ओलीले भनेका थिए,‘नेपाल–भारतबीचको सम्बन्ध प्रगाढ र सुमधुर बनाउन महामहिम राजदुत पुरीजीको महत्वपूर्ण भूमिका रहेको छ, म यसको मुक्तकण्ठले प्रशंसा गर्न चाहन्छु ।’



प्रतिक्रिया दिनुहोस्