मेक्सीको सिटी, ४ फागुन : मेक्सीकोको दक्षिणी सहरमा भ्यालेन्टाइन डेको अवसरमा आयोजित समारोहमा एकजना बन्दुकधारीले गोली चलाउदा सात जनाको मृत्यु भएको छ ।
स्थानीय समयानुसार बिहीबार अपरान्ह् साढे एक बजेतिर सो हत्याकाण्ड भएको स्थानीय अधिकारीहरुले जानकारी दिएका समाचारमा जनाइएको छ ।
दक्षिणी ओक्साका राज्यमा स्थानीय नगरप्रमुख राफैल मेल्चोर रुइजको पारिवारिक सदस्यहरुसहित सान जुआन लाचिगाल्ला समुदायले भ्यालेन्टाइन डे मनाइरहेका बेला घटना भएको डेली एक्सेल्सीओरले लेखेको छ ।
नगर प्रमुखका बुवा, छोरा र अन्य नातेदारहरु पनि मारिनेमा परेका पनि उक्त पत्रिकाले समाचारमा उल्लेख गरेको छ ।
त्यो रमाइलो कार्यक्रम सहरको मुख्य ठाँउमा गरिएको थियो । त्यस ‘डान्स पाटी’ मा के कसरी गोली चल्यो भन्ने बारेमा भने केही बताइएको छैन ।
परम्परागत रुपमा खेतीपातीमा संलग्न हुदै आएका सान जुआन लाचिगाल्ला समुदाय प्रादेशिक राजधानी ओक्साका देखि ९० किलोमिटर पर बसोबास गर्दै आएको छ ।
उक्त क्षेत्रमा उनीहरुको करिब तीन हजार तीन सयको संख्यामा घर परिवार रहेको बताइएको छ । (रासस/सिन्ह्वा)