Logo

ओली निवासमा बधाइ दिनेको भीड



भक्तपुर, ४ फागुन (रासस) : नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाई तथा शुभकामना दिन भक्तपुरको बालकोटस्थित उहाँको निजी निवासमा आउनेको भीड लागेको छ ।

प्रधानमन्त्री ओली निवासमा नवनियुक्त मन्त्रीद्वय, प्रदेश मन्त्री, प्रदेशसभाका सभामुख, एमालेका केन्द्रीय नेता, सञ्चारकर्मी, कलाकार, व्यापारी, सुरक्षा निकायका उच्च ओहोदाका व्यक्तिलगायत प्रधानमन्त्रीलाई बधाई तथा शुभकामना दिन आएका थिए ।

बिहान ७ बजेदेखि नै ओली निवासमा शुभेच्छुकको भीड लागेको थियो । बधाई दिन आउनेले घण्टाँै कुरेर लामबद्ध भएर प्रधानमन्त्रीलाई बधाई तथा शुभकामना दिएका थिए ।

प्रधानमन्त्री निवासमा जनसंख्या तथा वातावरण मन्त्री लालबाबु पण्डित, महिला बालबालिका तथा समाजकल्याण मन्त्री थममाया थापा पनि पुग्नुभएको थियो । ओलीलाई बधाई तथा शुभकामना दिन प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेल, सभामुख सानु श्रेष्ठ, आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जमरकट्टेललगायत पनि आउनुभएको थियो ।

त्यसैगरी प्रधानसेनापति राजेन्द्र क्षत्री, प्रहरी महानिरीक्षक प्रकाश अर्याल, प्रहरीका उच्चपदस्थ अधिकारी, कलाकार शिव श्रेष्ठलगायत, पत्रकार, लेखक विभिन्न संघसंगठनका पदाधिकारी एवं सर्वसाधारणको भीड लागेको छ ।

 



प्रतिक्रिया दिनुहोस्