Logo

पार्टी सुधारका लागि नयाँ घोषणा गर्ने तयारीमा छौँ : प्रदिप पौडेल



फागुन ५, काठमाण्डौ । नेपाली कांग्रेसका युवा नेता प्रदिप पौडेलले आफूहरुले उठाएका विषयमा परिणाम प्राप्त नभएकाले अझै शसक्त ढंगले अगाडि बढ्ने बताएका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै नेता पौडेलले आफूहरु दुई तीन भित्रमै नयाँ घोषणा गर्ने तयारीमा रहेको जानकारी दिएका छन् ।

पार्टीभित्र सुधारका विषयलाई केन्द्रित गरेर योजना सार्वजनिक गरिने पौडेलको भनाई छ । “कुनकुन पक्षमा सुधार गर्न आवश्यकता छ भन्ने कुरालाई सुत्रवद्ध ढंगले अगाडि लिएर जान्छौँ । पार्टीका कार्यकर्तालाई पनि यो कुराका बारेमा जानकारी गराउँछौँ ।”

पार्टीलाई सबल बनाउनका लागि आन्तरिक कमी कमजोरी हटाउनका लागि पनि पार्टीभित्र बहस चलाउने पौडेलले बताएका छन् । कांग्रेसलाई नयाँ शिराबाट अगाडि लैजानका लागि सात जना युवाहरुले गरेको सुरुवाताको अन्त्य नभएको भन्दै अब केन्द्रिय समितिको बैठकमा महासमिति बैठक बोलाउन दबाब सृजना गरिने उनको भनाई छ ।

आफूहरको आवाजलाई पार्टी नेतृत्वले नसुनी सुखै छैन भन्दै पौडेलले भने, “पार्टीलाई नयाँ शिराबाट अगाडि लैजान सकिएन, आन्तरिक कमजोरीलाई हटाउन सकिएन भने अब पार्टी त रहला । तर ठूलो र सशक्त हुँदैन । चुनौतिको सामना गर्न सक्दैन ।”

सभापति शेरबहादुर देउवाले पार्टीमा पदाधिकारीको संख्या थप्ने लगायतका एजेण्डालाई प्राथमिकता दिएको विषयको पौडेलले खण्डन गरेका छन् । “पार्टीको संरचना बढाउँदैमा मात्रै समस्या समाधान हुने अवस्था छैन । त्यसकारण नीतिगत, योजना, रणनीति नयाँ ल्याउनुपर्छ । यसका लागि हामीले प्रयास गरेका छौँ । समर्थन बढिरहेको छ ।” पौडेलले भने ।

उनले रचनात्मक प्रतिपक्षको भूमिकामा कांग्रेसले सरकारको कामलाई समर्थन र विरोध गर्ने बताएका छन् । सरकार गलत काम गर्ने बाटोतिर गयो भने खबरदार गरिने बताएका हुन् ।

प्रमुख प्रतिपक्षका रुमपा कांग्रेसले आगामी दिनमा मुलुक र जनताका निम्ति उपलब्धिपूर्ण काम कसरी दिलाउन सक्छ भन्नेमा केन्द्रित रहने बताए ।



प्रतिक्रिया दिनुहोस्