Logo

हाम्रा नेताहरु पार्टी एकताका लागि मरिमेटेर लाग्नुभएको छ : पाण्डे



फागुन ५, काठमाण्डौ । नेकपा एमालेका नेता सोमप्रसाद पाण्डेले पार्टी एकताका लागि अन्तिम तयारी भइरहेको बताएका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै नेता पाण्डेले एकताको खाकालाई औपचारिक रुप दिन मात्रै बाँकी रहेको दाबी गरेका हुन् ।

“धेरै कुराहरुको तयारी र छलफल भइसकेको छ ।” पाण्डेले भने ।

नेताहरुको व्यवस्थापनका विषयमा पनि छलफल चलेको जानकारी दिदै पाण्डेले पार्टी एकतापछि कुनै समस्या नआउने गरी गृहकार्य गरिरहेको बताए । तर पदकै कारण एकता ढिला भएको भन्ने टिप्पणीको पाण्डेले खण्डन गरे ।

“एकतापछि आउन सक्ने असन्तुष्टीप्रति अहिले नै सचेत भएका छौँ । एमाले र माओवादीका अध्यक्ष ओली र प्रचण्डले ल्याएको प्रस्तावमा छलफल चलाएका छौँ । टुङ्गो लागेको छैन ।” पाण्डेले भने । “हाम्रा नेताहरु पार्टी एकताका लागि मरिमेटेर लाग्नुभएको छ । पदीय भागबण्डाका कारण कसैले पनि एकता भाँड्ने अवस्था छैन ।”

पार्टी एकता हुने कुरामा कतिपयलाई विश्वास नलागेको भए पनि अबको केही दिनमा सबै कुरा स्पष्ट हुने पाण्डेले बताए । “केही दिनमा सबै रिजल्ट देखिन्छ । रिजल्ट नआउँदासम्म मान्छेलाई शंका लागेको हो । अनेक तर्क र कुतर्कहरु गलत साबित हुन्छ ।” पाण्डेको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्