Logo

वाम एकता भाँडने षडयन्त्रमा नफस्न प्रचण्डको आव्हान



हात्तीनेट, महोत्तरी फाल्गुन ५ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेपालमा वामपन्थीहरुबीचको एकता भाँडन बिभिन्न तत्वहरुले षडयन्त्र गरिरहेको बताउनु भएको छ ।

महोत्तरीको हात्तीनेटमा आयोजित बृहत जनसभा तथा प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले पार्टी एकता र गठबनधनको प्रक्रिया शुरु भएदेखि पार्टी एकता हुन नदिन षडयन्त्र भइरहेको बताउनुभएको हो ।

“नेपालमा ७० वर्षदेखि कहिल्यै राजनीतिक स्थिरता भएन, कुनै पनि सरकार पाँच वर्ष टिकेन । त्यसैले सुशासन, समृद्धि र समाजवादी नेपालको लागि कम्युनिष्ट शक्तिबीच एकता र वाम गठबन्धन जरुरी छ भनेर मैले नै प्रस्ताव अगाडि बढाएँ ।”

अध्यक्ष प्रचण्डले भन्नुभयो, “जनताको चाहना पनि यही भएकोले अहिले झण्डै दुई तिहाई बहुमत वामपन्थीहरुको आएको छ । तर वाम एकता नहोस् र नेपाली जनताले विकास निर्माण र समृद्धिको यात्रा प्राप्त गर्न नसकून भनेर देशी विदेशी प्रतिक्रियावादी लागि परेका छन् ।”

प्रदेश र संघको निर्वाचनमा वाम गठबन्धनको झण्डै दुई तिहाई बहुमत आएपछि एमाले र माओवादी केन्द्रलाई प्रलोभन र धम्की दिएर एकता भाँडने षडयन्त्र भएको अध्यक्षले बताउनुभयो । अध्यक्षले भन्नुभयो, “निर्वाचनमा दुई तिहाई आएपछि कहिले माओवादीलाई, कहिले एमालेलाई प्रलोभन र कहिले धम्की दिएर गठबन्धन टुटाउने षडयन्त्र भइरहेको छ ।”

अध्यक्ष प्रचण्डले इतिहासको निर्माण गर्न एक दुई जना नेताको मात्रै भर पर्न नसकिने बताउनुहुँदै सिँगो पार्टीका नेता र कार्यकर्ता चनाखो हुनुपर्ने समेत बताउनु भयो । “सबैमा अपील गर्न चाहन्छु, तपाईहरु सतर्क रहनुहोला, सावधान रहनुहोला, ताकि षडयन्त्रकारीको षडयन्त्रमा कोही नफसौं ।”

अध्यक्षले भन्नुभयो, “हामीले जुन ऐतिहासिक मिसन गरेका छौं, शहीद र अग्रजले देखेका सपना पुरा गर्ने जुन महान अभियानको शुरुआत भएको छ, त्यसलाई बीच बाटोमा नै तुहाउने षडयन्त्र भइरहेको छ । प्रक्रिया अवरुद्ध पार्ने षडयन्त्र भएको छ । तपाईहरु सतर्क बस्नुहोला ।”

दुई नम्बर प्रदेशका सबै पार्टीका नेता कार्यकर्तालाई आ–आफनो पार्टीका नेतालाई सतर्क तुल्याउने र गठबन्धनलाई सफल पार्न समेत अध्यक्ष प्रचण्डले सम्बोधन आव्हान गर्नुभयो ।

हात्तीनेटको ऐतिहासिक र राजनीतिक महत्व रहेको बताउनुहुँदै अध्यक्ष प्रचण्डले २०३६ सालको ऐतिहासिक आन्दोलनको बेला क्रान्तिकारी गाउँका रुपमा हात्तीनेट गाउँका रुपमा सुनेको बताउनुभयो । “तर धेरैपटक महोत्तरी आएर पनि हात्तीलेटमा आएर यहाँका अग्रज कमरेडसँग भेट र जनसमुदायसँग संवाद गर्ने अवसर जुटेको थिएन ।” वहाँले भन्नुभयो ।

अध्यक्ष प्रचण्डले अगाडि भन्नुभयो, “एक वर्षअघि म प्रधामन्त्री हुँदा मधेश र पहाड के हुने हो ? छिमेकीहरुसँग सम्बन्ध के हुने हो ? संविधान बनेपनि कार्यान्वयन हुने हो कि होइन, निर्वाचन हुने हो कि होइन ? भन्ने अवस्था विद्यमान थियो । संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनाका लागि क्रान्तिको नेतृत्व गरेको कारण मधेश र पहाडी जनतालाई विश्वासमा लिएर संविधानमा कार्यान्वयन गर्नेतर्फ लैजाने मेरो जिम्मेवारी र कर्तव्य थियो । मैले त्यो जिम्मेवारी पुरा गर्न प्रधानमन्त्री भएदेखि मधेशसँग संवाद गर्ने, असन्तुष्ट पक्षसँग बारम्बार वार्ता गर्ने र निर्वाचनसम्म देशलाई लैजान सके, त्यसमा मलाई गर्व छ ।”

मधेसका जनताले आफ्नो अपीललाई निकै उच्च महत्वका साथ लिएको समेत प्रचण्डले बताउनुभयो । “पहाडमा ७३ प्रतिशत भोट खस्दा मधेसमा ७७ प्रतिशत भोट खस्यो । मधेसका जनताले मेरो अपीललाई गम्भीररुपमा लियो । यसमा मलाई गर्व छ ।” वहाँको भनाई थियो

राजपाका केन्द्रीय सदस्यसहित ६ सय बढी माओवादी केन्द्रमा प्रवेश

सम्बोधन अघि अध्यक्ष प्रचण्डले राजपा नेपालका केन्द्रीय सदस्य अनिल बस्नेतसहित विभिन्न पार्टी परित्याग गरी छ सय बढी नेता तथा कार्यकर्तालार्य पार्टीमा प्रवेश गराउनुभएको थियो

प्रवेश गर्नेमा रमेश बुलान, प्रमुख सल्लाहाकार, वादसिंह तामाङ जिल्ला उपाध्यक्षको नेतृत्वमा छ सयबढी नेता तथा कार्यकर्ता रहेका छन् ।
इसैगरी आज नै अ्धयक्ष प्रचण्डले वामपन्थी आन्दोलनमा योगदान पुर्याउनुभएका सय बढी स्थानीय व्यत्तिःत्वहरुलाई सम्मानित गर्नु भएको थियो ।



प्रतिक्रिया दिनुहोस्