Logo

माओवादी केन्द्र संसदीय दलको नेतामा प्रचण्ड सर्वसम्मत चयन



काठमाडौं, ६ फागुन । नेकपा माओवादी केन्द्रको संसदीय दलको नेतामा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चयन हुनुभएको छ ।

आईतबार बिहान सिंहदरबारमा बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकले अध्यक्ष प्रचण्डलाई सर्वसम्मत रुपमा दलको नेता चयन गरेको हो।बैठकमा पार्टी एकता लगायत समसामयिक राजनीतिक विषयमा पनि छलफल भएको प्रवक्ता पम्फा भुसालले जानकारी दिनुभयो ।

उहाँका अनुसार पार्टी एकताका लागि केही सैद्धान्तिक र केही वैचारिक विषयको टुंगो लागेपछि सरकारमा सहभागी हुनेबारे पनि बैठकमा छलफल भएको छ ।

‘सरकारमा समर्थन जनाइसकेकाले पार्टी एकताका बाँकी विषयको टुंगो लगाएर राष्ट्रपति, उपराष्ट्रपति, मन्त्रीहरू लगायत पदबारे प्याकेजमा सहमति भएपछि सरकारमा सहभागी हुन्छौं,’ उहाँले भन्नुभयो ।

संसदीय दलको नेतामा चयन भएपछि सञ्चारकर्मीलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले छिट्टै पार्टी एकताको टुंगो लाग्ने बताउनुभयो। पार्टी एकताबारे संञ्चारकर्मीले सोधेको जिज्ञासामा उहाँले भन्नुभयो, ‘एकताको कुरा गर्न जाँदैछु ।’

अध्यक्ष प्रचण्डले समानुपातिकबाट प्रतिनिधिसभाका लागि चयन भएका सांसदहरूलाई प्रमाण पत्रसहित बधाई दिनुभएको थियो ।



प्रतिक्रिया दिनुहोस्