Logo

एमाले–माओवादी एकताका लागि निर्णायक बैठक सुरु, एकता घोषणा गर्ने तयारी



फागुन ७, काठमाण्डौ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकता प्रक्रियालाई अन्तिम रुप दिने भन्दै बैठक सुरु भएको छ ।
पार्टी एकता संमायोजन समितिको बैठक प्रधानमन्त्री केपी ओली निवास वालुवाटारमा सुरु भएको हो । आजको बैठकले पार्टी एकता प्रक्रियालाई अन्तिम रुप दिने दाबी गरिएको छ ।

बैठकमा एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्डले एकताको खाका प्रस्तुत गर्नेछन् । उक्त खाकालाई समितिले अनुमोदन गरेपछि पार्टी एकताको घोषणा गर्ने बताइएको छ ।

नेकपा एमालेका ओली र माओवादी अध्यक्ष प्रचण्डवीच ५ वर्ष आलोपालो प्रंधानमन्त्री चलाउने भद्र सहमति भएको छ । तर, पार्टी एकताका गर्दा यो सहमतिलाई औपचारिक रुपमा उल्लेख नगर्ने बताइएको छ ।

प्रधानमन्त्री आलोपालो चलाउने सार्वजनिक घोषणा गर्दा नकारात्मक सन्देश जाने भन्दै यसलाई भद्र सहमतिको रुपमा लिन लागिएको हो ।
सोमबार बिहान प्रधानमन्त्री केपी ओली र माओवादी अध्यक्ष प्रचण्डवीच ‘वान टु वान’ वार्तापछि पार्टी एकताको विषय टुंगो लागेको हो । यसअघि आइतबार दुई नेतावीच करिब ५ घण्टा छलफल भएको थियो ।

दुई नेतावीच पार्टी एकताको मोडालिटीमा सहमति भएसकेकाले अहिले बालुवाटारमा बसेको एकता संयोजन समितिको बैठकले अनुमोदन गर्ने दाबी गरिएको हो । संयोजन समितिले अनुमोदन गरेपछि पार्टी एकताको औपचारिक घोषणा हुने बताइएको छ ।

एमाले र माओवादी केन्द्रले एकीकृत पार्टीको नामबाट फुको हटाएर ‘नेपाल कम्युनिष्ट पार्टी’ मात्रै राख्ने शीर्ष तहमा सहमति गरेका छन् ।
पार्टीको अध्यक्ष को हुने भन्ने विषयमा मोटामोटी सहमति भएको भनिए पनि यसबारे अझै अन्तिम टुंगो लागिसकेको छैन । यसबारे एकता संयोजन समितिको बैठकमै अन्तिम निष्कर्ष निकाल्ने बताइएको छ ।

एउटा बैठकमा एकजना अध्यक्ष सिनियर हुने र अर्को बैठकमा अर्को अध्यक्ष सिनियर हुने गरी दुबैले पालैपालो अध्यक्षता गर्ने प्रारम्भिक सहमति भएको बताइएको छ ।



प्रतिक्रिया दिनुहोस्