Logo

एमाले र माओवादीबीच ७ बुँदे सहमति (सहमति पत्रसहित)



काठमाडौं, ७ फागुन । नेकपा एमाले र नेकपा माओवादी केन्द्रवीच ७ बुँदे सहमति भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको दुई पार्टीको बैठकले यस्तो सहमति भएको हो । गत असोज १७ गतेदेखि शुरु भएको एकता प्रक्रियामा आज समझदारी जुटेको हो ।

यो बीचमा पार्टीको वैचारिक कार्यदिशा, नेतृत्व, संगठनात्मक एकीकरणको प्रक्रिया लगायतका विषयमा दर्जनौपटक दुबै दलबीच बिभिन्न तह र चरणमा छलफल सम्पन्न भएको थियो ।

सहमतिपत्र माओवादी केन्द्रका नेता नारायणकाजीले पढेर सुनाएका थिए ।  श्रेष्ठपछि एमाले महासचिव ईश्वर पोखरेलले पनि पत्रकारहरुसँग कुरा गरेका थिए ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्रका बीचमा एकीकरणका प्रारम्भिक आधारहरु:

१. एकीकृत पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी रहने छ ।

२. पार्टीको निर्देशक सिद्धान्त माक्र्सवाद लेनिनवाद रहने छ ।

३. नेकपा एमालेले अपनाउँदै आएको जनताको बहुदलीय जनवाद अन्र्तगर्त अबलम्बन गरेको शान्तिपूर्ण बहुदलीय प्रतिष्पर्धा मार्फत आफ्नो श्रेष्ठता स्थापित गर्ने लगायतका मान्यता र शान्ति सम्झौता र त्यसपछिका लोकतान्त्रिक अभ्यासद्धारा नेकपा माओवादी केन्द्रको पनि उक्त शान्तिपूर्ण बहुदलीय प्रतिष्पर्धामार्फत आफ्नो श्रेष्ठता स्थापित् गर्ने लगायतका मान्यतामा समान धारणा रहेको स्पष्ट भएकै छ ।

४. नेकपा एमालेले अवलम्बन गरिआएको जनताको बहुदलीय जनवाद र नेकपा माओवादी केन्द्रले अबलम्बन गरिआएको माओवाद र एक्काईऔं शताब्दीमा जनवाद सम्बन्धी विषयहरुमा विधिसम्मत् छलफल गरी आवश्यक परिमार्जन र विकास गर्न सकिनेछ ।

५. उपरोक्त आधारमा टेकेर अन्तरिम राजनीतिक प्रतिवेदन एवम् अन्तरिम विधान तयार पारी सोही अनुसार एकीकृत पार्टी सञ्चालन गरिने छ।

६. प्राप्त उपलब्धिहरुको रक्षा र विकास गर्दै राष्ट्रियता, लोकतन्त्र र सामाजिक न्याय सुदृढ गर्दै सामाजिक आर्थिक रुपान्तरणमार्फत समाजवादका आधार निर्माण गरिनेछ ।

७. आगामी पार्टी महाधिवेशनलाई एकता महाधिवेशनको रुपमा समझदारीका साथ भव्य रुपमा सम्पन्न गरिनेछ ।

पार्टी एकता संयोजन समितिको तर्फबाट एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले नेताहरु झलनाथ खनाल, माधव कुमार नेपाल, वामदेव गौतम, ईश्वर पोखरेल र माओवादी केन्द्रका नेताहरु नारायणकाजी श्रेष्ठ र रामबहादुर थापाले हस्ताक्षर गरेका छन् ।

 



प्रतिक्रिया दिनुहोस्