Logo

एकतालाई सम्मानजनक बनाउन प्रधानमन्त्री पद आलोपालो गर्ने सहमति : खनाल



म राष्ट्रपति भएँ भने ऋषि धमलाको मुखमा दूधभात झलनाथ खनाल

फागुन ८, काठमाण्डौ । नेकपा एमालेका नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले माओवादीसँग एकता गर्ने आधार तय भएको भन्दै नेपाली जनताको सपना पूरा हुन लागेको बताएका छन् ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै खनालले नेपाली जनताले प्रतिक्षा गरेको कम्युनिष्ट आन्दोलनको एकता प्राप्त भएको बताएका हुन् ।

नेपाली जनताले दशकौँदेखि अविकासको अवस्था भोगेको भन्दै अब त्यसको अन्त्य हुने खनालको दाबी छ ।

“नेपाल कम्युनिष्ट पार्टीले जनताको अपेक्षालाई पूरा गर्नेछ । देश निर्माण र रुपान्तरणको अभियानमा देश प्रवेश गरेको छ । एकताले दिएको सन्देश पनि यही हो ।” खनालले भने ।

एमाले र माओवादी एक भएपछि नेपालबाट गरिबी, अशिक्षा, बेरोजगारी लगायतका समस्या समाधान हुने खनालको दाबी छ ।
नेपाल कम्युनिष्ट पार्टी निर्माण गर्नुको अर्थ नेपालको कम्युनिष्ट आन्दोलन एकतावद्ध भएको र केही साना कम्युनिष्ट पार्टीहरु पनि नीति र सिद्धान्तका आधारमा क्रमशः एकतावद्ध हुने खनालको भनाई छ ।

एकतापछि पार्टीका नाम नेपाल कम्युनिष्ट पार्टी राख्ने र मार्क्सवाद–लेनिनवादलाई निर्देशक सिद्धान्त बनाउने सहमति भएको छ ।
यस विषयमा कुरा गर्दै खनालले विश्वभरीका कम्युनिष्टहरुले माक्र्सवाद–लेलिनवादलाई अंगालिरहेको सिद्धान्त भएकाले आफूहरुका लागि मार्गदर्शक सिद्धान्त भएको बताए ।

माक्र्सवाद–लेलिनवादमार्फत देशलाई समृद्धिको बाटोमा लान सकिने खनालको दाबी छ ।
साथै जनताको बहुदलीय जनवाद, माओवाद र २१ औं सताब्दीको जनवादबारे छलफल गर्दै जाने सहमति भएको सातबुँदेमा उल्लेख गरिएको छ ।

यसलाई स्पष्ट पार्दै खनालले नेपालको आन्दोलन शान्तिपूर्ण र प्रतिस्पर्धाका आधारमा अगाडि बढ्दै जाने बताए ।
एमालेले जनताको बहुदलीय जनवाद र २१ औँ शताब्दिको माओवाद मुख्य मान्यता रहेको भन्दै खनालले यसमा पनि एकता भएको दाबी गरे ।

एकतालाई सम्मानजनक रुपमा अगाडि बढाउनका लागि प्रधानमन्त्री पद एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्डले आलोपालो गर्ने सहमति भएको बताएका छन् ।

यद्यपी आलोपालोको विषयमा अहिले केही पनि उल्लेख नगरिएको भन्दै खनालले आन्तरिक समझदारीमाथि निर्भर हुने बताए ।
“अब दुईवटा पार्टी रहेनन् । दुईवटा पार्टी मिलेर एउटै पार्टी भइसके । आलोपालो भन्ने कुरा नै रहेन ।” खनालले भने ।
नेता र नीतिको व्यवस्थापन सहज बनाउनका लागि आलोपालो गर्नुपरेको उनको तर्क छ ।

सरकारमा योग्यताप्राप्त र क्षमता भएका सासंदहरुलाई लैजाने खनालले बताए । अब केही दिनमा नै मन्त्रीमण्डल विस्तार गरिने बताए ।
खनालले आगामी दिनमा आफ्नो भूमिकाका बारेमा कुरा गर्दै आफू रहेसम्म देशको योगदानका लागि तयार रहेको बताए ।

अब देशको राष्ट्रपति बनेर अभिभावकको भूमिकामा बस्न तयार हुनुभएको हो भन्ने धमलाको प्रश्नमा खनालले भने, “तपाईको मुखमा दूधभात जाओस् ऋषि जि । यस मामलामा म अहिले अरु केही भन्दिन ।”

आफूलाई राष्ट्रपति बनोस् भनेर शुभेच्छा प्रकट गर्नेहरु सबैलाई खनालले धन्यवादसमेत दिए ।

शीर्ष नेताहरुको व्यवस्थापन कसरी हुन्छ भन्ने प्रश्नमा समानताको आधारमा एकता गरिएको र यसलाई प्रतिबिम्बित गर्नका लागि सहअध्यक्षको व्यवस्था गरिएको बताए ।
बैठकको अध्यक्षता भने पालैपालो गर्ने खनालले बताए ।

खनालले दुईवटै पार्टी एउटै हैसियतको नभएको भन्दै एमाले निकै ठूलो भए पनि एकले अर्कालाई समान महत्व दिइएको उल्लेख गरे ।
एकीकृत बनिसकेको भन्दै खनालले निर्वाचन आयोगमा प्रक्रिया पूरा गरेर नयाँ दल दल दर्ता गराउने जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्