Logo

नेतृत्व परिवर्तनका लागि महाधिवेशनको आवश्यकता छैन : दिपक खड्का



फागुन ८, काठमाण्डौ । नेपाली कांग्रेसका नेता दिपक खड्काले कांग्रेसले एकपटक चुनाव हार्यो भन्दैमा नेतृत्व असफल भयो भन्न नहुने बताएका छन् ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा कुरा गर्दै नेता खड्काले एउटा घटना–परिघटनाले नेतृत्व असफल भएको पुष्टी हुन नसक्ने बताएका हुन् ।

चुनावका बेला दुईवटा पार्टी मिलेकाले कांग्रेसले धेरै ठाउँमा चुनाव हार्नुपरेको उल्लेख गर्दै खड्काले मुलुकको परिस्थितले चुनावी गणित वाम गठबन्धको पक्षमा गएको बताए ।

यद्यपी कांग्रेस सभापति शेरबहादुर देउवाले एकपक्षिय गुटलाई प्रश्रय दिएको विषयमा बहस र छलफल हुनु स्वभाविक भएको बताए ।
नेता, कार्यकर्ताको सुझाबका आधारमा कांग्रेसलाई शसक्त बनाउने विषयमा पार्टी नेतृत्व जिम्मेवार बन्नुपर्ने खड्काको भनाई छ ।

तर नेतृत्व परिवर्तन गर्दैमा केके न हुन्छ भन्ने सोचाई गलत भएको खड्काको जिकिर छ । “जोसुकै नेतृत्वमा आए पनि अहिले तत्काल केही गर्न सकिने परिस्थिती छैन ।” खड्काले भने ।

सबै विषयमा छलफल गर्नका लागि महासमिति बैठक भने बोलाउनुपर्नेमा खड्काले जोड दिएका छन् ।
संघीय ढाँचाअनुसार पार्टीलाई रुपान्तरण गर्नका लागि विधान संशोधन गर्नुपर्ने भएकाले महासमिति बैठक अनिवार्य भएको उनको भनाई छ ।

तत्काल नेतृत्व परिवर्तनका लागि महाधिवेशन भने आवश्यक नरहेको उनले बताए ।
गर्नुपर्ने काम गर्न नसकेको कुरालाई जिम्मेवारीअनुसार सबैले दायित्वबोध गर्नुपर्ने उनको भनाई छ ।

विषम परिस्थितीमा पनि चुनाव सम्पन्न गराउन सफल भएको विषयलाई कांग्रेस नेतृत्वको उपलब्धिको रुपमा लिनुपर्ने खड्काले बताए ।
संसदीय दलको लागि गणित हेर्दा शेरबहादुर देउवाको सम्भावना बढि रहेको खड्काले बताए ।

खड्काले जनताको म्यान्डेटअनुसार एमाले र माओवादीबिच एकता हुनुलाई कांग्रेसले सकारात्मक रुपमा लिएको बताए ।



प्रतिक्रिया दिनुहोस्