Logo

संघर्ष र आलोचनापछिको मिलन भएकाले ओली र प्रचण्डको सम्बन्ध अब कहिल्यै विग्रदैन : पुन



नेकपा एमाले र माओवादी केन्द्रबिचको एकताले नयाँ मोड लिएको छ । मंगलबार साँझ दुई दलबिच एकताको आधारमा हस्ताक्षर भएको छ । अब दुई दलबिच एकता भएर नयाँ दल नेपाल कम्युनिष्ट पार्टी स्थापना हुने दाबी गरिएको छ । यद्यपी पार्टी एकताकै भने घोषणा भइसकेको छैन । यसै विषयमा ऋषि धमलाले माओवादी केन्द्रका नेता वर्षमान पुनसँग अन्तरवार्ता लिएका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि लिईएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।

तपाई माओवादी केन्द्रको नेता कि नेपाल कम्युनिष्ट पार्टीको नेता ?

अँ..औपचारिक र कानुनी रुपले नेकपा माओवादी केन्द्रको नेता । हिजो दुई पार्टीबिच भएको समझदारीअनुसार नेपाल कम्युनिष्ट पार्टीको स्थापना भइसकेपछि म पनि त्यसैको नेता हुन्छु । अहिलेको अवस्था संक्रमणकाल हो । अब माओवादी केन्द्र र एमाले पार्टी खारेज गरेर नयाँ दल स्थापना हुन बाँकी छ ।

अब तपाईहरुको सरकारमा सहभागिता कसरी हुन्छ ?

अब हामी छिटै मन्त्रीपरिषदमा सहभागि हुन्छौँ । संयुक्त सरकारको घोषणा गरिसकेका छौँ । मन्त्रीपरिषदलाई पूर्णता दिन एकता संयोजन समितिले समझदारी गरेर एउटै पार्टीको सरकार बनाउँछ । कार्यदलले १५ वटा मन्त्रालय बनाउने भनेको छ । पहिला कतिवटा मन्त्रालय बनाउने भन्ने विषयमा निष्कर्षका पुग्छौँ ।

कति प्रतिशतका आधारमा दुई पार्टीबाट सरकारमा सहभागिता हुन्छ ?
केही समझदारी भइसकेको छ । औपचारिक रुपमा एउटै पार्टी नबन्दासम्म संक्रमणकाल रहने भएकाले दुवै दलबाट मिलाएर सरकारमा सहभागिता हुन्छ । भावनात्मक रुपमा एकता प्रक्रिया चलिरहन्छ । त्यतिबेलासम्म भागबण्डा भन्दा पनि व्यवहारिक रुपले राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, मन्त्री लगायतका पदमा कुन पृष्ठभूमिबाट बनाउने भन्ने सहमति गर्छौँ ।

राष्ट्रपतिमा तपाईहरुको दाबी हो कि होइन ?

यस विषयमा कुरा भइरहेको छ । एमाले पृष्ठभूमिबाट प्रधानमन्त्री भइसक्नुभएको छ । अब सभामुख माओवादी पृष्ठभूमिबाट.. यस्तै यस्तै विषयमा प्रारम्भिक छलफल भइरहेको छ । सायद सभामुख माओवादीबाटै हुन्छ । कसलाई बनाउने भन्नेमा स्पष्ट भइसकेको छैन । राष्ट्रपति र उपराष्ट्रपति अहिलेकै दोहोरिने सम्भावना छ ।

सरकारमा जाँदा माओवादीको तर्फबाट कसले नेतृत्व गर्छ ?

पार्टी एउटै हुनेभएपछि केपी ओलीले सरकारको नेतृत्व गर्नुभएको छ । त्यसमा माओवादी पृष्ठभूमि र एमाले पृष्ठभूमिबाट मन्त्रीहरु बन्छन् । कसको नेतृत्वमा भन्ने कुरा अब बाँकी रहेन ।

तपाई अर्थमन्त्री बन्न चाहनुभएको हो ?

होइन । पार्टीले निर्णय गर्छ । छलफल चलिरहेको छ । ओली र प्रचण्ड दुवैले अहिलेको सरकार प्रभावकारी हुनुपर्छ भन्नुभएको छ । जनताको शान्ति, समृद्धि र स्थिरताको लागि उचित व्यक्तिहरु मन्त्री बनाउँछौँ ।

तपाई र रामबहादुर थापामध्ये एकजनाले माओवादीका तर्फबाट नेतृत्व गर्ने चर्चा छ नि ?

रामबहादुर थापा सिनियर नेता हो । उहाँले इच्छा देखाउनुभयो भने कसैले रोक्दैन । मैले पनि इच्छा देखाएँ भने पार्टी अध्यक्ष वा अरु नेताहरुले नो भन्नुहुन्न । अरु साथीहरु पनि योग्य हुनुहुन्छ ।

ओली र प्रचण्ड प्रधानमन्त्री आलोपालो बन्ने सहमति भएको हो ?

अब पार्टी एक भइसकेको छ । आवश्यकता र औचित्यका आधारमा जिम्मेवारी बाँडफाँट हुन्छ । अहिलेको सझदारीअनुसार सरकारको नेतृत्व पनि आलोपालो गर्ने सामान्य समझदारी भएको छ । तर मिति तोकेर औपचारिक रुपमा आलोपालो गर्ने कुरा भएको छैन । हामी देश विकासका लागि आवश्यकता अनुसार जनताको चाहना पूरा गर्छौँ ।

विचारको कुरा गर्दा तपाईहरुले माओवाद, २१ औँ शताब्दिको जनवाद छोडेर बहुदलीय जनवादलाई अंगाल्नुभएको हो ?

छोड्ने भन्दा पनि माक्र्सवाद–लेलिनवाद दुवै पार्टीले मान्दै आएकाले यसलाई स्विकार गरेका हौँ । आधारभुत सिद्धान्त माक्र्सवाद र लेलिनवाद नै हो । सार्वभौम सिद्धान्त भनेर माओवादलाई मानेको छ । एमालेले पनि माओवाद मानेर नै बहुदलीय जनवाद भनेको हो । हामीले पनि समय अनुसार २१औँ शताब्दिको जनवादलाई मानेका हौँ । यि सबै कुराको टुङ्गोमा पुग्नका लागि महाधिवेशनसम्म वैचारिक बहसमा राखेका छौँ । नेपालको समृद्धिका लागि आवश्यक सिद्धान्त निर्माण गछौँ ।

महाधिवेशन कहिले होला ?

केही समय लाग्छ । अहिले देश र जनतालाई परिवर्तनको अनुभूति दिलाउनतर्फ केन्द्रित हुन्छौँ ।

प्रचण्ड र ओली एकअर्काका विरोधी थिए । सम्बन्ध कसरी सुमधुर भयो ?

मान्छेको सम्बन्ध इतिहास, जनता र परिस्थितीअनुसार परिवर्तन हुन्छ । कसैसँग चाहेरभन्दा पनि परिस्थितीअनुसार सम्बन्ध जोडिन्छ । कुनैबेला केपी ओली माओवादीको आलोचक हुनुहुन्थ्यो । हामी माओवादी पनि उहाँको आलोचक थियौँ । तर आजको दिनमा नेपालको परिवर्तनलाई संस्थागत गर्दै जनताको चाहना पूरा गराउनका लागि शक्ति निर्माणमा लाग्यौँ । विचार मिल्ने पार्टी भएकाले दुई दलको नेता मिलेको हो ।

यो सम्बन्ध अब दिगो रहन्छ त ?

यो सम्बन्ध दिगो हुन्छ । लामो समयको संघर्षपछि एकतामा आएको सम्बन्ध भएकाले अब सम्बन्ध विग्रने कुरा हुँदैन । प्रचण्ड र ओलीले एकअर्कालाई राम्ररी बुझेका छन् । देश, जनता र परिवर्तनका लागि ज्यान दाउमा राखेर हिँडेका नेताहरु भएकाले अबको सम्बन्ध सुमधुर हुन्छ ।



प्रतिक्रिया दिनुहोस्