फागुन ८, काठमाण्डौ । मंगलबार साँझ वालुवाटारमा एमाले र माओवादीबिचको पार्टी एकताको आधार तयार गर्न अन्तिम बैठक बसिरहेको थियो । प्रधानमन्त्री केपी शर्मा ओली निवास वालुवाटारमा एमाले र माओवादीका नेताहरुको उपस्थिती थियो ।
एमाले र माओवादीका शीर्ष नेताबीच पार्टी एकीकरण बारे महत्वपूर्ण बैठक सुरु भइरहेकै बेला संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव प्रधानमन्त्री निवास बालुवाटारमा पुगे ।
असान्दर्भिक जस्तो लाग्ने गरी यादवको प्रवेशले ठूलै खैलाबैला मच्चियो । यादवले पनि आफू वालुवाटार किन गएको भन्ने बारे मुख खोलेनन् । अरु कसैले पनि केही जानकारी दिएनन् ।
एमाले नेता अग्नि खरेलसँग उनी बालुवाटार पुगेका थिए ।
तर अहिले यादवले वालुवाटार जानुको रहस्य खोलेका छन् । यादवले पत्रकार ऋषि धमलासँग कुरा गर्दै बालुवाटारमा संविधान संशोधनबारे आफ्ना कुरा राख्नका लागि गएको बताएका हुन् ।
यादवलाई वाम गठबन्धनभित्र संविान संशोधनबारे छलफल भइनसकेकोले औपचारिक निर्णय भएपछि पुनः खबर गर्ने गरी आश्वाश्स पारेको छ ।
धमलासँग कुरा गर्दै यादवले आफूहरु सरकारमा जाने र नजाने कुराको टुङ्गो संविधान संशोधनका विषयमा सरकारमा रहेका एमाले र माओवादीको स्पष्ट धारणा आएपछि मात्रै लाग्ने बताए ।
संविधान अनुसार प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र ओलीले संसदमा विश्वासको मत लिनुपर्नेछ । एमालेसित २७५ सदस्यीय प्रतिनिधि सभामा १२१ सदस्य मात्र छ । बहुमत सिद्ध गर्न एमालेलाई १७ सिट अपुग छ । संसदमा राजपाको १७ र संघीय समाजवादी फोरमको १६ सिट रहेको छ ।
एमालेसँग माओवादीको सम्बन्ध बिग्रेको खण्डमा एमालेलाई सरकार बनाउन मधेशी गठबन्धनको कम्तिमा एक दलको समर्थन आवश्यक पर्नेछ । तर अब एमाले र माओवादीबिचको सम्बन्ध विग्रिएर फोरम सहभागि हुने अवस्था आउने सम्भावना टरेको छ ।
यद्यपी सरकारमा सहभािग हुनका लागि भने दुई दलबिच दरार आउनैपर्छ भन्ने छैन । तीन दल मिलेर सरकार संचालन गर्न पनि सक्नेछन् ।