Logo

को हुन् युवराज खतिवडा ? ओली नेतृत्वको सरकारका भावी अर्थमन्त्री !



फागुन ८, काठमाण्डौ । यसअघि नै राजनीतिमा लाग्ने बताउँदै आएका पूर्व गभर्नर युवराज खतिवडा अन्ततः राष्ट्रियसभा सदस्य बन्ने भएका छन् । यसअघि पहिलो पटक प्रधानमन्त्री हुँदा नै एमाले अध्यक्ष केपी ओलीले खतिवडालाई अर्थमन्त्री बनाउने चर्चा चलेको थियो ।

त्यतिबेलाको चर्चा चर्चामै सिमित भयो । यसपटक पुनः ओली नेतृत्वको सरकारका सम्भावित अर्थमन्त्रीको रुपमा खतिवडाको चर्चा चुलिएको छ ।

मंगलबार विहान बसेको मन्त्रीपरिषद बैठकले खतिवडालाई राष्ट्रियसभामा मनोनितका लागि सिफारिस गरेसँगै उनलाई मन्त्री बन्ने बाटोसमेत खुलेकाले चर्चा चुलिएको हो ।

अहिले नेपालको अर्थतन्त्र डामाडोल छ । आर्थिक विकासलाई तिब्रता दिने उद्घोष गर्दै आएका प्रधानमन्त्री ओलीलाई अर्थतन्त्रमा भएको डामाडोल स्थितीबाट पार लगाउन योग्य व्यक्ति चाहिएको छ ।

सामान्यतया राजनीतिक पृष्ठभूमिका व्यक्तिलाई नै अर्थमन्त्री बनाउने प्रचलन छ । तर अब देशको अर्थतन्त्र सुधारका लागि योग्य र क्षमतावान व्यक्तिलाई अर्थमन्त्रालयको जिम्मा दिनुपर्ने बाध्यात्मक स्थिती भएकाले पनि खतिवडालाई अर्थमन्त्री बनाउने सम्भावना रहेको एमालेका नेताहरुले बताएका छन् ।

एमालेको उच्च स्रोतले पत्रकार ऋषि धमलालाई दिएको जानकारी अनुसार खतिवडालाई अर्थमन्त्री बनाउने सम्भावना छ । “मन्त्रीपरिषद विस्तार गर्दा खतिवडा अर्थमन्त्री बने भने आश्चर्य नमाने हुन्छ ।” स्रोतले भन्यो ।

वित्तिय सुधार, खर्च व्यवस्थापन, संघियता व्यवस्थापन लगायतको पक्षमा योग्य व्यक्तिकै आवश्यकता देखिएकाले खतिवडा त्यसका लागि उचित पात्र हुन सक्ने स्रोले बतायो ।

यस्तो छ खतिवडाको पृष्ठभूमि :
डा. युवराज खतिवडाको जन्म विस २०१९ सालमा भएको हो । उनी नेपाल राष्ट्र बैंकको पन्ध्रौं गभर्नर हुन् । उनले यूएनडीपी रीजनल सेन्टरमा वरिष्ठ अर्थशास्त्रीका रुपमा पनि काम गरिसकेका छन् ।

खतिवडा वि.सं.२०५९ देखि २०६२ सम्म नेपाल सरकारको राष्ट्रिय योजना आयोगमा उपाध्यक्षसमेत भइसकेका छन् ।

यस अघि उनी नेपाल राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागको प्रमुख भइसकेका थिए । २०३८ मा त्रिभुवन विश्वविद्यालयमा एक स्नातकोत्तर शिक्षक र २०४७ देखि २०४८ सम्म त्रिभुवन विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयमा एक अतिथि संकाय सदस्यको रूपमा पनि खतिवडाले काम गरिसकेका छन् ।

डा. युवराज खतिवडाले २०३८ र २०४१ मा त्रिभुवन विश्वविद्यालयबाट क्रमशः अर्थशास्त्र र लोक प्रशासनमा मास्टर डिग्री प्राप्त गरेका थिए ।

वि.सं. २०४८ मा दिल्ली स्कूल अफ इकोनोमिक्सबाट मौद्रिक अर्थशास्त्रमा पीएचडी गरेका खतिवडाले धेरै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रशिक्षण र विकास सम्बन्धित मुद्दा तथा कार्यक्रमहरूको सेमिनारमा भाग लिएका छन् ।

डा. खतिवडाले वि.सं.२०५० मा महेन्द्र विद्या भूषण तथा वि.सं.२०५७ सुप्रबल गोर्खा दक्षिण बाहु प्राप्त गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्