Logo

राष्ट्रपति र सरकारलाई कांग्रेसको चेतावनी- विनम्र छौँ, तर कमजोर छैनौँ(भिडियोसहित)



फागुन ८, काठमाण्डौ । नेपाली कांग्रेसले राष्ट्रियसभामा तीन जना मनोनित गर्ने विषयमा सरकार र राष्ट्रपतिले मनपरी गरेको आरोप लगाएको छ ।

प्रमुख विपक्षी दल कांग्रेसले केपी शर्मा ओली सरकारले राष्ट्रियसभामा गरेको तीन सदस्यको सिफारिसमा आपत्ति जनाउँदै सिफारिसलाई स्विकृत गर्ने राष्ट्रपतिको कदम पनि गलत भएको जिकिर गरेको हो ।

पार्टी कार्यालय सानेपामा मंगलबार आयोजित पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले देउवा सरकारले गरेको सिफारिस रद्द गर्दै केपी ओली सरकारले गरेको सिफारिसालाई मनोनित गर्नु राष्ट्रपति विद्यादेवी भण्डारीको भेदभावको नीति भएको बताए ।

राष्ट्रपतिले अघिल्लो सरकारले गरेको सिफारिस कार्यान्वयनमा ढिलाइप्रति पनि प्रवक्ता शर्माले आपत्ति जनाए । उनले भने, ‘एउटा सरकारलाई एउटा चश्माले हेर्ने, अर्को सरकारलाई अर्को चश्माले हेर्नेखालको सन्देश गएको हो कि भन्ने हाम्रो ठहर छ ।’

मंगलबार केपी ओली नेतृत्वको सरकारले राष्ट्रियसभाका लागि तीन सदस्य सिफारिस गरेको छ । यसलाई राष्ट्रपति विद्या भण्डारीले स्वीकार गरेर राष्ट्रिय सदस्यमा मनोनित गरेकी छन् ।

कांग्रेसले भने शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेका निर्णयबारे नयाँ सरकारले गर्ने निर्णयहरुका आधारमा सम्वन्ध परिभाषित हुने बताएको छ ।
मुख्य प्रतिपक्षसँग सरकार गम्भीर र जिम्मेवार हुनुपर्ने भन्दै प्रवक्ता शर्माले भने, ‘प्रधानमन्त्रीले आफूलाई कसरी अगाडि बढाउन चाहनुहुन्छ भन्ने सुरुवातमा उहाँले लिने निर्णयहरुबाट झल्किन्छ भन्ने हाम्रो ठहर छ ।’

शर्माले अघि भने, ‘अघिल्लो सरकारका निर्णयहरुका सन्दर्भमा अहिलेको सरकारले लिने निर्णय र राख्ने व्यवहारअनुरुप हाम्रो सम्वन्ध परिभाषित हुन्छ ।’
कांग्रेसले आफू जिम्मेवार प्रतिपक्षका रुपमा विनम्र ढंगले प्रस्तुत हुने तर, कमजोर ढंगले प्रस्तुत नहुने बताएको छ । प्रवक्ता शर्माले भने, सरकारको आगामी दिनको रबैया हेरेर संसदमा व्यवहार गर्छौं ।’



प्रतिक्रिया दिनुहोस्