जितपुर, कपिलवस्तु, ८ फागुन : प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोख्रेलले आज यहाँका विभिन्न पर्यटकीयस्थल अवलोकन गर्नुभएको छ ।
ऐतिहासिक तिलौराकोट दरबार, निगलीहवा, निगालीकोट, राजापानी, जगदीशपुर ताललगायतका ठाउँ अवलोकन गर्नुभएका उहाँले यस जिल्लाको गुरुयोजना बनाएर संवृद्धितर्फ लैजान आफू प्रतिबद्ध भएको धारणा राख्नुभयो ।
कपिलवस्तु संस्कृतिक हिसाबले धनी र पुरातात्विक हिसाबले पनि यो उत्तिकै महत्वपूर्ण छ । नेपालमा भएका जिल्लामध्ये सबैभन्दा बढी पुरातात्विकस्थल यही भएकाले पनि यहाँको दिगो विकासमा लाग्नुपर्ने मुख्यमन्त्री पोख्रेलको भनाइ थियो ।
उहाँले भन्नुभयो, “मुलुकको ठूलो पर्यटकीयस्थलका रुपमा विकास गर्न सकिने सम्भावना भएको यस क्षेत्रलाई संरक्षण र उचित व्यवस्थापन गरी देशको अर्थतन्त्रमा योगदान पु¥याउन सकिन्छ ।”
पुरातत्व विभाग, बेलायतको दूरहाम विश्वविद्यालय र लुम्बिनी विकास कोष युनेस्को जापानीज फण्ड इन ट्रष्टको आर्थिक सहयोगमा करिब तीन वर्षदेखि उत्खनन गरिरहेको तिलौराकोट दरबार अवलोकन पछि मुख्यमन्त्री पोख्रेलले उत्खननमा हालसम्म भएको प्रगति र उपलब्धिका बारेमा समेत जानकारी लिनुभएको उत्खनन, अन्वेषण तथा अनुसन्धान कार्यक्रमका सहनिर्देशक रविन कनिङ्घाम र पुरातत्व विभागका पूर्व निर्देशक कोषप्रसाद आचार्यले जानकारी दिनुभयो ।
यसैगरी तिलौराकोट नजिकै रहेको कपिलवस्तु सङ्ग्रहालय कपिलवस्तु नगरपालिका–९ जगदीशपुरमा १५७ हेक्टर क्षेत्रफलमा रामसार सूचीमा सूचीकृत मानवनिर्मित नेपालकै सबैभन्दा ठूलो जगदीशपुर ताल पनि अवलोकन गरिएको थियो
भ्रमण टोलीमा यस जिल्लाका प्रतिनिधिसभा तथा प्रदेश सांसदहरुको पनि सहभागिता रहेको थियो । हाल पश्चिम क्षेत्रको प्रदेश नं ५ मा पर्ने कपिलवस्तु जिल्लाको क्षेत्रफल ६७१ किमी छ । (रासस)