Logo

ओलीले अर्को निरंकुशता जन्माउन खोजे : नेपाल बार एशोसियसन



काठमाडौं, ८ फागुन । नेपाल बार एशोसियसनका अध्यक्ष शेरबहादुर केसीले प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा अर्को निरंकुशता जन्माउन खोजेको आरोप लगाएका छन् ।

निर्वतमान प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रियसभाको लागि गरेको तीन जनाको मनोनयन खारेज गरेर नयाँ नियुक्त गर्नु गलत भएको उनको आरोप थियो । उनले भने,“प्रधानमन्त्री ओलीले अर्को निरकुंकता जन्माए, यसबारेमा हामी गम्भिर छलफल गर्छौं, अब बार चुप लागेर बस्दैन, हामी निर्णय सच्याउनुपर्छ भन्ने पक्षमा छौं, बार जस्तोसुकै कदम चाल्न तयार छ ।”

मंगलबार साँझ नेपाली रेडियो नेटवर्कको लोकप्रिय कार्यक्रम “जनता जान्न चाहन्छन्”मा पत्रकार ऋषि धमलासँग कुरा गर्दै अध्यक्ष केसीले अघिल्लो प्रधानमन्त्री देउवा नेतृत्वको मन्त्रिपरिषदले गरेको सिफारिशलाई खारेज गरेर नयाँ मनोनित गर्नु नै गलत भएको आरोप लगाएका हुन् ।

उनले भने,“प्रधानमन्त्री ओलीले यसअघिको सरकारले गरेको तीन जना नियुक्ती रातारात खारेज गर्नुभयो, र नयाँँ नियुक्तीको लागि नाम सिफारिश भयो र राष्ट्रपतिले मनोनित गर्नु भयो, यो गलत हो।”

केसीले राष्ट्रपति विद्यादेवी भण्डारीले पनि गलत गरेको आरोप लगाए । उनले भने,“यो मामिलामा पनि राष्ट्रपति नै दोषी हुनुभयो ? पछिल्लो समय आएर उहाँ चिप्लिनुभयो, संविधानको गम्भिर उल्लंघन गर्नुभयो ।”



प्रतिक्रिया दिनुहोस्