Logo

राष्ट्रिय मातृभाषा कविता महोत्सव-२०७४



काठमाडौँ, ९ फागुन (रासस) : अन्तर्रा्ष्ट्रिय मातृभाषा दिवस २०७४ को अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठानले आज ‘राष्ट्रिय मातृभाषा कविता महोत्सव— २०७४’ को आयोजना ग¥यो ।

संसारभर छ हजारभन्दा बढी भाषा रहेको र २१ औँ शताब्दीसम्म आइपुग्दा आधा भाषा अर्थात तीन हजारभन्दा बढी भाषा लोप हुने स्थितिमा पुगेको छ । नेपालमा कुल १२३ भाषा छन् । राज्यको संरक्षण नपाएको तथा स्थानीय जनजातिले पनि बेवास्ता गरेका कारण कतिपय भाषा लोप हुने अवस्थामा पुगेको बताइएको छ ।

कार्यक्रममा नेपाल, मैथली, खस, दुमी, तामाङ, धिमाल गरी ३६ भाषाका ४४ कवि तथा कवयत्रीले कविता वाचन गरेका थिए । डेउडा, नेवारी, भोजपुरी, मैथली, धिमालजस्ता नृत्य पनि कार्यक्रममा देखाइएको थियो ।

सो अवसरमा भाषाशास्त्री प्रा डा नबलकिशोर राईले मुलुकमा रहेको विभिन्न भाषा र संस्कृति नेपालको सम्पत्ति भएको उल्लेख गर्दै त्यसलाई भावी सन्ततिसम्म जीवन्त राख्नका लागि राज्य र सम्बन्धित समुदायले विशेष ध्यान दिनुपर्ने आवश्यकता औल्याउनुभयो ।

सो महोत्सवका संयोजक श्रवण मुकारुङले मातृ भाषा तथा साहित्यको विकासमा परापूर्वकालदेखि नै कवितालाई शक्तिशाली विधा मानिएको र कवितामार्फत नै भाषाको विकास तथा परिमार्जन हुँदै आजको स्थितिमा आइपुगेको छ भन्नुभयो ।

उहाँले विभिन्न भाषाका ४४ कविता महोत्सवका लागि छनोट भएको पनि जानकारी दिनुभयो । प्रतिष्ठानका उपकुलपति विष्णुविभू घिमिरेले नेपाल प्रज्ञा–प्रतिष्ठानले देशमा रहेका विभिन्न मातृभाषाको संरक्षणका लागि अग्रणी भूमिका निर्वाह गर्दै आएको बताउनुभयो ।

तस्विर : मुकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्