Logo

माओवादी केन्द्रको बैठक सम्पन्न, मन्त्री छान्ने जिम्मा प्रचण्डलाई



काठमाडौं, १० फागुन । समसामयिक राजनीतिक विषयमाथि छलफल गर्दै नेकपा (माआवादी केन्द्र)को कार्यालय बैठक सम्पन्न भएको छ । पार्टी अध्यक्ष प्रचण्डको निवास खुमलटारमा अपरान्ह ४ बजेदेखि चलेको बैठकमा नेकपा एमालेसँगको पार्टी एकता, सरकार गठनलगायतका विषयमा छलफल भएको पार्टी प्रवक्ता पम्फा भुसालले बताउनुभयो ।

प्रवक्ता भुसालका अनुसार, बैठकमा सहभागी कार्यलय सदस्यहले पार्टी एकताका लागि नेकपा एमाले र माओवादी केन्द्रबीच भएको सात बुँदे समझदारीका बारेमा जिज्ञासा राखेका थिए । पार्टी एकता प्रक्रियालाई टुंगोमा पुर्याउन गठित दुबै कार्यदलको आजको बैठकको प्रगतिका बारेमा समेत आज छलफल भएको थियो ।

बैठकले पार्टी एकताको प्रक्रियाको स्वागत गरेको भुसालले बताउनुभयो । यसैगरी आजको बैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा माओवादी केन्द्रबाट सहभागी हुने मन्त्रीहरुका बारेमा समेत छलफल भएको प्रवक्ता भुसालले बताउनुभयो ।

‘मन्त्री छनोट गर्दा समावेशी, समानुपातिक आधारमा नयाँ र पुराना, अनुभवीलगायत सबै पक्षलाई विचार गरेर पठाउने भन्ने विषयमा छलफल भयो । तर आजको बैठकमा कसलाई पठाउने भन्ने निर्णय भएको छैन ।”

प्रवक्ता भुसालले भन्नुभयो, “मन्त्रालय १८ बनाउने भन्ने कुरा भएको छ । तर नामका बारेमा माथिका पक्षहरु विचार गरेर अध्यक्षलाई जिम्मा दिइएको छ ।”



प्रतिक्रिया दिनुहोस्