Logo

अहिलेकै अवस्थामा राजपा सरकारमा जाने बाटो बन्द छ : यादव



फागुन ११, काठमाण्डौ । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेशसभाको विश्वासको मत पाएका छन् । वाम गठबन्धनले समेत समर्थन गरेपछि राउतले दुई तिहाईको समर्थन पाएका छन् । कांग्रेस भने विपक्षमा बनेको छ ।

राष्ट्रिय जनता पार्टीका नेता महेन्द्र राय यादवले प्रदेश नम्बर दुईको सरकारलाई वाम गठबन्धनले आँफै समर्थन गरेको बताएका छन् । मूख्यमन्त्री लालबाबु राउतले सबै दललाई आग्रह गर्नु स्वभाविक भएको भन्दै कुन दलले समर्थन गर्ने र नगर्ने भन्ने कुरा दलहरुकै विचार भएको यादवले बताए ।

वाम गठबन्धनले समर्थन गरेर राम्रो काम गरेको यादवले बताए । “कांग्रेसले पनि समर्थन गरेको भए हुन्थ्यो गरेन ।” यादवले भने ।

“प्रदेश सरकारमा समर्थन भए पनि केन्द्र सरकारमा भने कुरा नमिलेको यादवको भनाई छ । प्रदेश सरकार र केन्द्र सरकार फरक कुरा हो । संविधान संशोधनको माग पूरा गर्न तयार नभएसम्म केन्द्र सरकारमा हामी सहभागि हुँदैनौँ ।” यादवले भने ।

पछिल्लो समय नेकपा एमाले संविधान संशोधनको पक्षमा देखिएकाले केन्द्र सरकारमा सहभागि हुने विषयमा छलफल भएको उनको भनाई छ ।

संविधान संशोधनलगायतका माग पूरा हुने गरी वाम गठबन्धनसँग प्याकेजमा सहमति भएको खण्डमा सरकारमा जाने स्पष्ट पारेका छन् ।

अहिलेकै अवस्थामा भने राजपा सरकारमा जाने बाटो बन्द भएको यादवको दाबी छ ।

संघीय समाजवादी फोरम नेपाल सरकारमा सहभागि भए पनि संविधान संशोधनको सुनिश्चितता नभएसम्म राजपा सरकारमा नजाने उनले स्पष्ट पारे ।

“विगतमा केपी ओलीले हामीलाई ठोकेका हुन् । छातीमा गोली ठोकेका हुन नि । सरकारले बोर्डरमा पठाएकै हो नि ।” यादवले आक्रोष पोख्दै भने ।

अब पनि आफूहरु शान्तिपूर्ण बाटोमा हिँड्ने कि आन्दोलनमा जाने भन्ने कुरा केपी ओली नेतृत्वको सरकारमा भर पर्ने उनले बताए ।



प्रतिक्रिया दिनुहोस्