Logo

प्रत्येक प्रदेशबाट समावेशी हुने गरी अवसर नपाएकालाई मन्त्री बनाउनुपर्छ : पौडेल



फागुन १२, काठमाण्डौ । नेकपा माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलले पार्टीले आवश्यकता ठान्यो भने आफू मन्त्री बन्ने नत्र नबन्ने स्पष्ट पारेका छन् ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै पौडेलले अहिलेसम्म को सरकारमा सहभागि हुने भन्ने विषयमा छलफल चलिरहेको बताए ।

पार्टी अध्यक्ष प्रचण्ड र नेताद्धय रामबहादुर थापा र नारायणकाजी श्रेष्ठले सरकारमा सहभागि हुनेहरुको नाम टुङ्गो लगाउने पौडेलले बताए ।

“उहाँहरु बसेर गृहकार्य गर्दैहुनुहुन्छ । आवश्यक पर्यो भने पार्टीले दिएको जिम्मेवारी पूरा गर्न तयार छु ।” पौडेलले भने ।

आफू अहिलेसम्म मन्त्री नबनेकाले चर्चा हुनु स्वभाविक भएको भन्दै पौडेलले यसअघि मन्त्री बनेकालाई सकेसम्म दोहोर्याउन नहुने बताए ।

“मन्त्री बन्नका लागि तीनवटा मापदण्ड बनेको छ । प्रत्येक प्रदेशबाट नछुटाउने गरी, समावेशी अनुहार हुने गरी र पहिला मन्त्री नभएका र नदोहोर्याउने गरी । यहीअनुसार मन्त्री छान्नुपर्छ ।” पौडेलले भने ।

भोलीसम्ममा जसरी पनि टुङ्गो लगाउनुपर्ने भएकाले मापदण्डभित्र रहेर नै मन्त्रीको छनौट हुने पौडेलको दाबी छ ।

यद्यपी यसअघि मन्त्री भइसकेका रामबहादुर थापाको नेतृत्वमा सरकारमा जाने सम्भावना बढि रहेको उनले बताए ।

अरु कुन मन्त्रालय कसले पाउने भन्ने टुङ्गो नलागेकाले छलफल भइरहेको उनले बताए ।

माओवादीले सातवटा मन्त्रालय पाउने गरी भागबण्ड गरिए पनि मधेशवादी दल सरकारमा सहभागि भएको खण्डमा मन्त्रालय संख्या घटबढ हुन सक्ने पौडेलले बताए ।



प्रतिक्रिया दिनुहोस्