Logo

वाम एकता भत्काउन बिरोधीहरु जुनुसुकै सीमासम्म जान सक्छन : प्रचण्ड



काठमाडौं, १२ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष वाम एकतालाई भत्काउन खोज्नेहरुले हत्याकाण्ड जस्तो षडयन्त्र समेतगर्न सक्ने खतरा औंल्याउनु भएको छ ।

राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले एकतालाई अनिष्ट भयो भनेर तर्सेका दक्षिणपन्थी शक्तिहरुले वामपन्थीभित्रकै समूहहरुलाई उपयोग गरेर एकतालाई भत्काउन जुनसुकै सीमासम्म जान सक्ने सम्भावना औंल्याउनु भएको हो ।

पार्टी एकता गर्ने पहल शुरु भएपछि बिभिन्न कोणबाट विचार विमर्श भएको बताउनुहुँदै अध्यक्षले एकथरिले बिरोध र अर्कोथरिले समर्थन गरेको चर्चा गर्नुभयो । “राजनीतिक, वैचारिक, सैद्धान्तिक र जनताको जीवनमा असर पर्ने किसिमले पनि बहस शुरु भएको छ । एकथरिले अनिष्ट शुरु भयो भनेका छन् ।

अधिनायकवादतिर जान्छ, निरंकुशतिर गयो भनेर एकथरिले भनेका छन् ।” अध्यक्षले भन्नुभयो, “अर्कोथरिले बिल्कुल ठीक भयो, पहिल्यै हुनुपथ्र्यो, तर अब ठीक छ भनेर अनुमोदन गरेका छन् ।

लेखक रामराजा रेग्मीद्वारा लिखित “नेपालको इतिहास, एक माक्र्सवादी दृष्टिकोण’ पुस्तकको विमोचन गर्नुहुँदै अध्यक्ष प्रचण्डले वाम एकताले नेपाली समाजको समृद्धि, स्थायित्व विकास र सुशासनको जनताको चाहनालाई पुरा गर्ने भन्दै जनताले अनुमोदन गरेपनि यसलाई अनिष्टको संज्ञा दिनेहरुले षडयन्त्र गर्नसक्ने बताउनुभएको हो ।

“वाम एकताको घोषणाले पैदा गरेको तरंग अरु सबैभन्दा ठूलो छ । यो आम जनताका लागि सकारात्मक र अर्कोपक्षका लागि नकारात्मक पनि गुणात्मकरुपले ठूलो छ । त्यसैले यी दुई कित्ताका बीचमा कित्ताका बीचमा निकै तीब्र हुने वाला छ । अर्कोतर्फै माक्र्सवादीहरुभित्रका दक्षिण, मध्य उग्र प्रवृत्तिका बीचमा पनि पेचिलो बहस हुने वाला छ ।” अध्यक्ष प्रचण्डले भन्नुभयो, “यो बहस बढ्दै जाने वाला छ । मलाई के लाग्छ भने परस्पर बिरोधी कित्ता र आन्दोलनभित्रकै गलत चिन्तन र प्रवृत्तिसँग सम्बन्धितहरुको कुरा गर्दा कहिँ न कतै त्यहाँ अनौठा अनौठा समीकरण देखिन सक्छन् ।”

नेपाली इतिहासमा वैचारिक, राजनीतिक र जनताको तागतको हिसाबले पराजित हुँदा अर्को कित्ताले अन्तिम लडाईं लडन चाहने र त्यो क्रममा माक्र्सवादी आन्दोलनका विचलनकारी शक्तिलाई नै उपयोग गर्ने अध्यक्षले बताउनुभयो ।

“यो संघर्षमा जनताको श्रमजीविको जीत हुनेतर्फ अगाडि बढ्यो, स्थायित्व, विकास र समृद्धितिर देश अगाडि बढ्दै गयो भने अर्को कित्तालाई सहने स्थिति नरहनन पनि सक्छ ।”

वहाँले भन्नुभयो, “ नेपालको इतिहासमा यस्ता बिन्दु आउने गरेका छन् । चाहे राणाकालको उदयको कुरा गरौं या पछिल्ला परिघटनाको कुरा गरौं, दरबार हत्याकाण्ड या मदन भण्डारीको हत्यासम्म हेर्दा असह्य भएपछि यस्तो षडयन्त्रमा उत्रिने देखिएको छ ।” वहाँले अगाडि भन्नुभयो, “परिवर्तनविरोधी अर्को वर्ग र पक्षधरले माक्र्सवादी आन्दोलनका विचलनलाई प्रोत्साहित गर्ने, मलजल गर्ने र त्यही भित्रबाटै लडाई लडने गर्छ । म उपस्थित विद्धान साथीहरुलाई निकै गम्भीर, सकारात्मक र रचनात्मकरुपले विचार गर्न अनुरोध गर्दछु ।”

अगाडि जानुको विकल्प छैन

अध्यक्ष प्रचण्डले नेपालको इतिहासलाई नयाँ ढङ्गले अघि बढाउन खोजिएको भन्दै इतिहासको निर्माता जनता भएको बताउनुभयो । अहिले निर्वाचनमार्फत जनताले स्थायीत्व, समृद्धि र सुशासनका लागि वाम एकतालाई अनुमोदन गरेको हुँदा त्यसबाट पछाडि हट्नै नसकिने जिकिर गर्नुभयो । अध्यक्षले भन्नुभयो, “पपुलर भोटको कुरा गर्दा ५१ प्रतिशत र प्रतिनिधिमूलक भोट ६७ प्रतिशत छ । त्यसैल यसलाई भत्काउन खोज्नेहरु जुनसुकै सीमामा जान सक्छन् । यसलाई भत्काउन ठूलाठूला षडयन्त्र हुने छन् । यसलाई भत्काउन या सुदृढ गर्ने दुईवटा विकल्प हाम्रा अगाडि छन् ।”

अध्यक्षले प्रचण्डले जनताले निर्वाचनमार्फत एकताको पक्षमा आदेश दिएको दोहोर्याउनु भयो, “त्यही आदेश पालना गर्ने क्रममा बीचमा केही आग्रह, पूर्वाग्रह, संकीर्णता र अराजकताले केही उतारचढाव भयो ।” प्रचण्डले भन्नुभयो, “अन्ततः ‘जनादेशलाई स्वीकार गर्नैपर्छ र बाहिर जान खोज्यो भने सह्य र क्षम्य हुँदैन, माक्र्सवादी, जनवादी हुन सक्दैन’ भनेर पार्टी एकता गर्ने आधारमा हस्ताक्षर गरेका छौं । हामी पार्टी एकतातिर अघि गई नै सक्यौं । पछाडि फर्के खाल्डोमा फस्नुबाहेक विकल्प छैन ।”

नेपाली जनताले नेपालको तीब्र विकास भएको हेर्न चाहेको अध्यक्ष प्रचण्डले बताउनुभयो । एकतापछि नेपालको इतिहासमा नै सबैभन्दा ठूलो सदस्य भएको पार्टी हुने बताउँदै वहाँले जनताले यो एकीकृत पार्टीबाट ठूलो अपेक्षा राखेको बताउनुभयो । “यसप्रति जनताको आशा निकै बढी छ ।” अध्यक्षले भन्नुभयो, “जनताले सुशासन, विकास, समृद्धि गरोस् भन्ने अपेक्षा छ । द्रुत गतिमा विकास होस्, सबैखाले बेथितिको अन्त्य होस र समृद्ध नेपाल छिटो स्थापना होस् भन्ने जनताको अपेक्षाको दबाब नेतृत्वमाथि धेरै ठूलो परेको छ ।”

पुस्तकमाथि परिचर्चा गर्नुहुँदै अध्यक्ष प्रचण्डले विश्वमा इतिहास २ किसिमले लेखिने गरेको प्रचण्डले बताउनुभयो । ‘एउटा राजा महाराजाले गरेका भनिएका चमत्कारका विषयमा इतिहास लेखिन्छ भने अर्को मजदुर जनताका श्रम र उत्पादन विकासका इतिहास लेखिन्छन्,’ प्रचण्डले भन्नुभयो, ‘राजा महाराजाको इतिहास लेखिनु पुजीवादी दृष्टिकोण हो भने जनताको इतिहास लेखिनु माक्र्सवादी दृष्टिकोण हो ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot