Logo

भोलि नै सरकार विस्तार हुन्छ : बिडारी



काठमाडौं, १२ फागुन । नेकपा माओवादी केन्द्रका नेता रामनारायण बिडारीले भोलि नै मन्त्रिमण्डल विस्तार हुने दाबी गरे । उनले भने,‘केही मान्छे भोलि सरकारमा थपिन्छन्, आवश्यकत्ता अनुसार पर्सी पनि फेरि थपिन्छन्।’

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता बिडारीले वर्तमान सरकारको मुख्य उद्देश्य भनेको नै देश विकास गर्ने भएकोले आगामी दिनमा सन्तुलित र परिपक्व कुटनीति अपनाउँदै अघि बढ्नुपर्ने धारणा राखे ।

नेकपा एमाले र माओवादी केन्द्रवीचको एकता प्रक्रिया सुरु भैसकेकोले वडा, गाउँ, प्रदेशदेखि केन्द्रसम्म नेताहरुको व्यवस्थापन भएर नै एकता घोषणा हुने उनको विश्वास थियो । उनले भने,‘अब एकता अघि बढ्यो–बढ्यो, नचाहनेहरु छोडिन्छन्।’ दुई पार्टीबीचको एकतासँगै मुलुकमा शक्तिशाली पार्टी स्थापित् हुने पनि उनको दाबी थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नै सबैलाई एकमत बनाएर देश हाँक्ने अठोट लिएकोले विपक्षी दललाई पनि विश्वासमा लिईने बिडारीले जनाए । उनले सानो र छरितो मन्त्रिमण्डल विस्तार गर्ने निर्णय भएकोले मितव्ययीताको दृष्टिकोणले मुलुकलाई फाईदा पुग्ने काम भएको प्रशंसा गरे ।

फरक प्रसँगमा कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले राष्ट्रिय सभामा सिफारिश गरेका व्यक्तिहरुले अहिले नयाँ सरकारले गरेको सिफारिश खारेज गरेर आफूहरुको नाम अनुमोदन गराउन अदालतमा हालेको रिटप्रति टिप्पणी गर्दै उनले भने,‘मुद्दा हाल्ने अधिकार सबैमा छ, तर यो अदालतमा परिसकेकोले विचाराधिन छ, यसमा धेरै टिप्पणी गर्न म उचित ठान्दिन्।’

उनले एउटा सरकारले गरेका निर्णय अर्को सरकारले उल्टाउन सक्ने उनको तर्क थियो । बिडारीले थपे,‘त्यतिबेलाको सरकारले सिफारिश गरेको तर निर्णय भैसकेको थिएन, त्यो त ‘डिओ प्रोसेस’मा थियो, सरकारले नै राजिनामा दिएपछि सरकारका सिफारिश स्वतः रद्द हुन्छ नि।’

उनले युद्धकालिन घट्नाका मुद्दाहरु सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता व्यक्ति छानबिन आयोगमार्फत टुँगो लागेपछि मात्रै मुलुकमा संक्रमणकालिन अवस्था टुँग्गिने विश्वास दिलाए ।



प्रतिक्रिया दिनुहोस्