Logo

ओलीलाई चूनौति दिन कांग्रेसले छायाँ सरकार चलाउने



काठमाडौँ, १२ फागुन । नेपाली काँग्रेसले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई चूनौति दिनेगरि छायाँ सरकार सञ्चालन गर्ने निर्णय गरेको छ ।

काँग्रेस संसदीय दलको आज सिंहदरबारमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । प्रस्तावित संसदीय दलको विधानलाई परिमार्जनसहित पारित गरेको छ । विधान पारित गर्नुपुर्व बैठकले नेता तथा सांसदहरुसँग परामर्श गरेको थियो ।

बैठकमा नेता मीनेन्द्र रिजालले दलको विधानको संशोधन प्रस्ताव पेश गरेका थिए । उक्त मस्यौदा माथिको छलफलमा नेताहरुको धारणा राखेका थिए ।
काँग्रेसले संसदीय दलका नेता चयनका लागि भरसक सर्वसम्मत् प्रयास गर्ने र त्यो नभए निर्वाचनमा जाने बताएको छ ।

सांसदहरुले पार्टीलाई सशक्तरुपमा अघि बढाउन सहमतिको आधारमा संसदीय दलको नेताको चयन हुनुपर्ने र सहमति हुन नसकेको खण्डमा पनि अत्यन्तै स्वस्थ्य प्रतिस्पर्धाबाट नेताको चयन होस् भन्ने परामर्श दिएको एक नेताले पत्रकार ऋषि धमलालाई जानकारी दिए ।

पार्टी सभापति शेरबहादुर देउवाको सभापतित्वमा भएको संसदीय दलको बैठकको सुरुमा निर्वा्चित भएर आएका सबै प्रतिनिधिसभा र राष्ट्रियसभाका प्रतिनिधि तथा समस्त मतदातालाई सभापति देउवाले बधाई ज्ञापन गरेका थिए ।

वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकको पछिल्लो परिस्थितिमा खास गरी राष्ट्रियता, प्रजातन्त्र र समाजवादको सम्बद्र्धन तथा संविधानको रक्षाका लागि बहुलवादमा आधारित प्रतिस्पर्धात्मक लोकतान्त्रिक व्यवस्थालाई सुदृढ गर्न पार्टीको भूमिकालाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका थिए ।

बैठकमा बोल्ने अधिकांश नेताले संघीय लोकतान्त्रिक गणतान्त्रिक शासन व्यवस्थालाई अगाडि बढाउने क्रममा दुवै सदनमा काँग्रेसले सशक्त भूमिका निर्वाह गर्ने दृढता व्यक्त गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्