नेपाल भारत प्रवुद्ध समूहको भारत तर्फका सदस्य प्राध्यापक भिसी उप्रेतीसँग नेपाल भारत सम्बन्ध कस्तो हुनुपर्छ, नयाँ सरकार गठनसँगै मोदी र ओलीवीचको सहकार्य कस्तो हुन्छ ? द्धिपक्षीय सम्बन्धका विभिन्न आयामबारे पत्रकार ऋषि धमलाले विशेष कुराकानी गरेका छन् । उप्रेतीसँग धमलाले कुराकानीको सम्पादित अंश :
ईपिजीको ७ औं बैठकका उपलब्धिहरु के के हुन ?
नेपाल भारत द्धिपक्षीय सम्बन्धलाई अझै धेरै मजबुद बनाउनेबारे हामीबीच छलफल भएको छ । द्धिपक्षीय सम्बन्धका विविध आयामहरु जे जति छन्, तीनीहरुको बारेमा हामीले छलफल तथा बहस गरेका छौं । ती आयामहरुलाई बुझ्ने कोशिस गरेका छौं । यस सम्बन्धमा आ आफ्नो विचार व्यक्त गर्यौं । आगामी केही महिनाभित्रै हाम्रो एक प्रतिवेदन आउँछ । उक्त प्रतिवेदनका हामीले खाका समेत तयार पारिसकेका छौं ।
१९५० को सन्धि पूनरावोलकन गर्न भारत तयार छ ?
यो त हाम्रो विषयभन्दा बाहिरको कुरा हो । भारत सरकार तयार हुन्छ या हुँदैन यो त सरकारकै विषय हो । प्रवुद्ध समूह के बुझ्छ भने आजको सन्दर्भमा यो सन्धिलाई कसरी समयसापेक्ष बनाउन सकिन्छ भनेर हामी सुझाव दिन सक्छौं । यो सन्धिलाई अझै एडिकोक्वुटी बनाउनको लागि कस्तो कस्तो नयाँ चीज जोड्न सकिन्छ भन्ने हाम्रो ध्यान हो ।
उसो भए १९५० को सन्धिलाई समयानुकुल बनाउन के-के गर्नुपर्ला ?
यसमा धेरै कुराहरु भनिएका छैनन् । जस्तो पर्यावरणको कुरा उल्लेख गरिएको छैन । त्यसलाई विस्तृत सन्धि बनाउनुपर्छ । जहाँ धेरै कुराहरु समावेश गर्नुपर्नेछ । जस्तो मानव सुरक्षाको व्यवस्था छैन् । त्यसैले आजको आवश्यकत्तालाई समावेश गरेर यो सन्धिलाई विस्तृत बनाउनुपर्छ भन्ने हाम्रो सुझाव हो ।
नेपाल र भारतबीच भएका सन्धिलाई खारेज गर्नुपर्छ कि रिभ्युमात्रै गर्दा हुन्छ ?
मलाई लाग्दैन कि सन्धिलाई खारेज गर्नुपर्छ भनेर । खारेज गर्नुपर्र्ने आवश्यकत्ता नै छैन । मेरो सुत्र के हो भने अहिलेसम्म भएका सन्धिमा भएका विषयसँगै नयाँ नयाँ विषय पनि जोड्नुपर्छ । जस्तो नयाँ विषयहरुमा पर्यावरणको सुरक्षा, मानवीय सुरक्षा पनि एउटा विषय हुनसक्छ । पर्यटन विकास पनि अर्को विषय हुनसक्छ । त्यस्तै अरु पनि धेरै विषयहरु हुनसक्छन्, जुन आजको आवश्यकत्ता हुन् । देश र समाजको आवश्यकत्ता हुन् ।
नेपालमा वाम गठबन्धनको सरकार बनेको छ, एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्नुभएको छ । नेपाल-भारत सम्बन्ध प्रगाढ हुन्छ ?
नेपाल–भारत सम्बन्धलाई कुनैपनि सरकार, राजनीतिक दल वा दलका नेतृत्वसँग जोडिन सकिँदैन् । किनकी यो सम्बन्ध खास छ। हामीबीचको सम्बन्धमा विविध आयामहरु छन् । त्यसलाई कुनै एक प्रधानमन्त्री, वा सरकार वा दलसँग जोडेर हेर्न सकिँदैन् । दोस्रो कुरा म के भन्न चाहन्छु भने हामीले एउटा सकारात्मक दृष्टिकोण बनाउन जरुरी छ । जुन दल आज सरकारको नेतृत्वमा आएको छ । जुन दलको नेता आज प्रधानमन्त्रीमा आउनुभएको छ । त्यसप्रति हाम्रो सकारात्मक दृष्टिकोण हुन जरुरी छ । र, यो पनि विश्वास गर्नुपर्छ कि त्यो सरकारको पनि भारतप्रतिको दृष्टिकोण सकारात्मक नै हुन्छ भनेर ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीवीच केमेस्ट्री कस्तो होला ?
मोदी र ओलीको केमेस्ट्री कस्तो हुन्छ भन्ने कुरा यो उहाँहरुको सोच र दृष्टिकोणमा निर्भर पर्छ । मेरो विषय यो होईन कि उहाँहरुको सम्बन्ध कतिको नजिक हुन्छ भनेर भन्न सकौं । तर, म यो भन्न सक्छु कि दुवै प्रधानमन्त्रीहरुको सकारात्मक दृष्टिकोण रह्यो भने विकास र देशको समृद्धि, स्थायित्व र सम्बन्ध आपसे आप राम्रो र प्रगाढ हुन्छ ।
नेपाल-भारत सिमाको समस्या पनि बेला बेला आईरहेको छ, यसको दिर्घकालिन समाधान कसरी गर्ने ?
सिमामा चाहे विवाद होस् वा संकट होस, यसबारेमा हामीले के कहिल्यै सिमा बन्द गरिनुपर्छ भनेर भन्यौं र ? त्यतिमात्रै होईन के हामीले कहिले सन्धिको खतम गर्नुपर्छ भनेर भन्यौं र ? यदि भनेको छैनौं भने हामी दुवै देश समस्या बुझ्न सक्छौं । समस्या महशुस गर्नसक्छौं । खुल्ला सिमा दुवै देशका लागि ईश्वरको एक बरदान हो । बरु सवाल यो कि यसलाई कसरी सदुपयोग गर्न सकिन्छ भन्ने ।
तर पनि सिमालाई रेगुलेट त गर्नुपर्छ नि ?
रेगुलेट गर्ने काम त सरकारको हो नि । हाम्रो काम होईन ।
प्रवुद्ध समूहको निश्कर्ष के हो त ?
मेरो विचारमा यो हो कि सिमाबाट दुवै देशका नागरिक खासगरी सिमावर्तीहरुले अधिकभन्दा अधिक फाईदा लिन सकुन । आर्थिक कारोबार बढोस् । यही दृष्टिकोणबाट अब चर्चा हुनुपर्छ ।
महाकाली सन्धि र पञ्चेश्वरको बारेमा पनि यो बैठकमा केही छलफल भयो त ?
नदिजल उपयोगको सम्बन्धमा कुराकानी भएको छ । यसमा पनि मेरो दृष्टिकोण के हो भने पानी र विजुली दुवै अलग अलग कुरा हुन् । पानीको उपयोगिता धेरैमा छ । पावर फेरि अर्को विषय हो। हामीलाई के आवश्यकत्ता छ भनेर पहिले तय गर्नुपर्छ । पानीको उपयोगिता हो वा विजलुी ? यो आवश्यकत्ता हामीले तय गर्नुपर्छ ।
भारतलाई त विजुली चाहिएको छ ? नेपालको विजुली भारत खरिद गर्न चाहन्छ होईन र ?
भारतले विजुली खरिद गर्नसक्छ यो त केवल एउटा कुरा हो । भारतले त भुटानसँग पनि खरिद गरिरहेको छ । भारतमा पानीको कमी छैन । त्यहाँपनि विजुली पैदा भैरहेको छ । तपाईहरुले बहस नगरेको एउटा कुरा, भारतमा वैकल्पिक उर्जाको जो कुरा छ, हामीकहाँ विन्ड ईनर्जीको बहस जारी छ । हाम्रोमा सोलार ईनर्जीको कुरा भैरहेको छ । यी सबै कुरा हामीले हाईडा«ेको वैकल्पिक रुपमा देखेका छौं । भारतमा अहिले यसको प्रयोग बढिरहेको छ । आजको दिनमा ईनर्जी सेक्टरमा केवल पानीको मात्रै बहस गर्नु वा कुरा गर्नु बेईमानी हो । पानी त भारतसँग पनि छ ।
तर अहिले त नेपालले भारतसँग विजुली खरिद गरिरहेको छ नि ?
यो त नेपालको समस्या हो नि । यो हाम्रो समस्या होईन् । तपाईहरुको कुल ८३ हजार मेगावाटको क्षमता हुँदापनि अर्को देशबाट विजुली किन्नुपरिरहेको छ । यसको लागि भारत जिम्मेवारी हो भन्ने कुरामा म सहमत छैन । यसको लागि नेपालको सरकार, नेपालको सोच जिम्मेवार छन् । नेपालले पनि कमर्सियल सोच बनाउनुपर्छ । पानी भारतले लैजान्छ भन्ने संकुचित सोच यहाँ छ । पानी त आँफै पनि जान्छ नि । यो त प्राकृतिक हो । नेपालको पानी खेर गैरहेको छ । भनिन्छ नि पानी बगेपछि खेर जाने हो ।
पानीको सदुपयोग गर्नुपर्छ नि ?
हो, मैले त्यही कुरा भनिरहेको छु । सहमति अनुसार नै अघि बढ्नुपर्छ ।