Logo

खतिवडा अर्थमन्त्री हुनु समयको माँग, अर्थतन्त्र ट्रयाकमा ल्याउलान ?



काठमाडौं, १४ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले आज अर्थमन्त्री पाएको छ । ओलीले डा. युवराज खतिवडालाई अर्थमन्त्री बनाएर सबैलाई चकित तुल्याईदिए ।

खतिवडा अर्थमन्त्री बनेसँगै प्रधानमन्त्री ओलीको समेत गुनगान गाउन सुरु गरिएको छ । ओलीले सही समयमा सही निर्णय गरेको अर्थविदहरुले बताउने गरेका छन् ।

अर्थविद् डा. शंकर शर्माले पत्रकार ऋषि धमलासँग कुराकानी गर्दै भने,‘उहाँ अर्थमन्त्री हुनु समयको माँग र आवश्यकत्ता हो, यो कुरा प्रधानमन्त्री ओलीले बुझे, यो निर्णय सही हो, हामी स्वागत गर्छौ।

अर्थतन्त्र बुझेको व्यक्ति अर्थमन्त्री हुनु सबैको लागि सुखद हुने शर्माको टिप्पणी छ ।

खतिवडाले आगामी दिनमा आईपर्ने आर्थिक संकटलाई कुशल रुपमा व्यवस्थापन गर्न सक्छन् भन्ने धेरैको विश्वास छ ।

डा. खतिवडा बलियो नियमनसहित कतिपय क्षेत्रमा राज्यको हस्तक्षेपकारी नीति हुनु पर्छ भन्ने मान्यता राख्ने व्यक्ति हुन्। खतिवडासँग अर्थतन्त्रको विषयगत ज्ञानका साथै डोनर एजेन्सीसँग पनि राम्रो सम्बन्ध छ।

अर्थतन्त्र अप्ठेरो मोडमा रहेका बेला उनको नियुक्तिले अर्थतन्त्रलाई सही ट्रयाकमा ल्याउन सहज हुने धेरैको विश्वास छ । त्यतिमात्रै होईन, विकास निर्माणका लागि आवश्यक पर्ने पर्याप्त स्रोत जुटाउन सहज हुने वर्तमान सरकारको भरोशा छ ।

डा. खतिवडा मौद्रिक अर्थशास्त्रमा विद्यावारिधिगरेका हुन्। उनले सन् १९९१ मा दिल्ली स्कुल अफ इकोनोमिक्सबाट विद्यावारिधि गरेका हुन्। उनी सन् २००९ मै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष भइसका थिए। त्यसपछि उनी राष्ट्र बैंकको गभर्नर नियुक्त भए। राष्ट्र बैंकबाट अवकाश भएपछि केही समयमै फेरि योजना आयोगको उपाध्यक्ष नियुक्त भएका थिए। योजना आयोगमा उनी राष्ट्र बैंकको कार्यकारी निर्देशक छँदै सन् २००२ मा सदस्यका रुपमा नियुक्त भएका थिए।



प्रतिक्रिया दिनुहोस्