Logo

समृद्धिका लागि शान्ति र सुशासन पहिलो शर्त : गृहमन्त्री थापा



काठमाडौँ, १४ फागुन  : नवनियुक्त गृहमन्त्री रामबहादुर थापाले मुलुकको समृद्धिका लागि शान्ति सुरक्षा र सुशासन पहिलो शर्त भएको बताउनुभएको छ ।

मन्त्रालयमा आज पदबहालीपछि मातहतका कर्मचारी र सुरक्षाकर्मीलाई निर्देशन दिँदै उहाँले भन्नुभयो, “निर्वाचनपछिको राजनीतिक स्थायित्वले मुलुक र जनताको हितमा काम गर्ने ऐतिहासिक अवसर आएको छ, यसलाई अवसरका रुपमा लिनुपर्छ । जनअपेक्षानुसार काम गर्न आफ्नो क्षमताले भ्याएसम्म काम गरिने प्रतिबद्धता व्यक्त गर्दै गृहमन्त्री थापाले यसमा आइपर्ने चुनौतीको सामना गर्न सबैको सहयोगको अपेक्षा गर्नुभयो ।

मन्त्रालयमा यसअघिका राम्रा कामलाई निरन्तरता दिइने र सकारात्मक कामको अनुसरण गरिने बताउँदै उहाँले कर्मचारी र सुरक्षाकर्मीको वृत्तिविकासमा देखिएका समस्या समाधानका लागि पनि आवश्यक पहल गरिने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

विसं २०१२ मा गुल्मीमा जन्मनुभएका मन्त्री थापाले विद्यालयस्तरको शिक्षा नेपाल तथा भारतका विभिन्न विद्यालयबाट र उच्च शिक्षा रुसको पेट्रिस लुमुम्बा विश्वविद्यालयबाट हासिल गर्नुभएको छ । पैँतालीस वर्षदेखि राजनीतिमा सक्रिय उहाँले यसअघि पहिलो संविधानसभा सदस्यमा निर्वाचित हुनाका साथै रक्षा मन्त्रालयको जिम्मेवारी निर्वाह गरिसक्नुभएको छ । पार्टीमा महासचिवको जिम्मेवारी निर्वाह गरिसक्नुभएका उहाँ हाल नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कार्यालय सदस्य हुनुहुन्छ ।

पदबहाली कार्यक्रममा गृहसचिव मोहनकृष्ण सापकोटाले मन्त्रालयले भोग्नुपरेका चुनौतीका बारेमा जानकारी दिनुभएको थियो । मन्त्री थापालाई गृहसचिव, तीनै सुरक्षा निकायका प्रमुख, मन्त्रालयका उच्च पदाधिकारी र उच्च सुरक्षा अधिकारीले स्वागत गर्नुभएको थियो । (रासस)



प्रतिक्रिया दिनुहोस्