Logo

मलाई गलत हुनबाट रोक्नुहोस्ः मन्त्री यादव



काठमाडौँ, १४ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले मन्त्रालयको काम कारबाहीलाई जनमुखी र प्रभावकारी तुल्याउन सामूहिक सहकार्य हुनुपर्ने बताउनुभएको छ ।

आज सिंहदरबारमा पदभार ग्रहणपछि मन्त्रालयका कर्मचारीलाई निर्देशन दिँदै उहाँले समन्वयका साथ अधिकार र कर्तव्यबोधलाई ध्यान दिएर देश र जनताका पक्षमा काम गर्नुपर्ने खाँचो औँल्याउनुभयो ।

“भाषण गर्ने तर काम नगर्ने प्रवृत्ति पुरानै भएकाले त्यसको अन्त्यगर्दै जति बोलिन्छ त्यति नै काम गर्नेगरी योजनाबद्ध कार्यक्रम ल्याउछु,” मन्त्री यादबले भन्नुभयो ।

“अहिले भाषण हैन काम गर्ने बेला हो, मलाई गलत हुनबाट रोक्नुहोला, बेलैमा सजक गराउनुस्, हामी सबै मित्रवत् व्यवहारका साथ मन्त्रालयलाई नमूना बनाउनेतर्फ अघि बढौँ”, उहाँले भन्नुभयो ।

मन्त्री यादबले आफू मित्रवत् व्यवहारका साथ मन्त्रालयको काम कारबाही सम्पादन गर्ने उल्लेख गर्दै अनुशासन तोडेर गढबड गर्नेका लागि मात्र आफू खतरा भएको र त्यसका लागि कुनै सम्झौता नगर्ने स्पष्ट पार्नुभयो ।

संविधानको निर्देशअनुसार समाजवादको आधार तयार गर्नेगरी काम गर्ने पनि उहाँले बताउनुभयो ।

कार्यक्रममा यसअघि तीन वटा मन्त्रालय समयोजन गरेर गठन भएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव क्रमशः चन्द्रकुमार घिमिरे, यामकुमारी खतिवडा र अनिलकुमार ठाकुरले मन्त्रालयको गतिविधिबारे जानकारी गराउँदै एकीकरणपछि मन्त्रालयलाई छरितो र वैज्ञानिक बनाउन लागिपरेको उल्लेख गर्नुभयो ।

उहाँहरुले अहिलेको मुख्य समस्या मुलुकको व्यापार घाटालाई न्यूनीकरण गर्न योजनाबद्ध कार्यक्रम ल्याउने तयारीमा लागेको बताउनुभयो ।

को हुन् मातृका यादव ?

विसं २०३४ मा नेपाल कम्युनिष्ट पार्टी (चौथो महाधिवेशन) बाट राजनीतिक यात्रा शुरु गर्नुभएका मातृका यादव विसं २०३६÷०३८ सम्म सिरहा क्याम्पसमा दुई पटक अनेरास्ववियुको सभापति बन्नुभयो ।

विसं २०३८ मा विद्यार्थीको सातौँ राष्ट्रिय सम्मेलन आयोजक समितिका सदस्य बन्नुभएको मन्त्री यादब त्यसपछि भूमिगत जीवन बिताउनुभयो । उहाँ चौम (चौथो महाधिवेशनका पोलिटब्यूरो सदस्य (पिबिएम) समेत हुनुभयो ।

जेल जीवन र लामो संघर्ष भोग्नुभएका उहाँले विसं २०३९ मा जेलबाट छुटेपछि पुनःपार्टीमा सक्रिय हुनुभयो । विसं २०४० मा देव गुरूङको नेतृत्वमा विद्यार्थी संगठनमा केन्द्रीय सदस्य र पार्टीमा क्षेत्रीय ब्यूरो सदस्य बन्नुभयो ।

पार्टी पातलो मसाल, मोटो मसाल हुँदै एकता केन्द्र बन्दासम्म मातृका यादव क्रान्तिकारी धारमै सक्रिय हुनुहुन्थ्यो । विसं २०५०÷५१ मा प्रचण्डको नेतृत्वमा रहेको एकता केन्द्रमा उनी संलग्न हुनुभयो । विसं २०५९ मा सरकारसँग दोस्रो वार्तामा वार्ताटोलीको सदस्य बन्नुभयो ।

अन्तरिम व्यवस्थापिका–संसद्मा वनमन्त्री बन्नुभएका उहाँ तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालसँगको विवादका कारण मन्त्रीबाट राजीनामा दिनुभएको थियो । विसं २०६४ मा संविधानसभामा समानुपातिकबाट सभासद् बन्नुभयो । पार्टीबाट अलग भई सभासद्बाट पनि राजीनामा दिएर उहाँ २०६५ माघ २९ गते माओवादी पुनःगठन गर्ने भन्दै नेकपा (माओवादी) को संयोजक भएर आन्दोलनमा अघि बढ्नुभयो ।

यादवले दुई वर्ष अगाडि माओवादी केन्द्रसँग पार्टी एकीकरण गरेपछि मधेशको इञ्चार्ज पनि हुनुभयो । धनुषा क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित यादव मधेशमा प्रभावकारी नेताका रुपमा चिनिनुहुन्छ ।

उहाँ माओवादी केन्द्रका तर्फबाट एमालेका अध्यक्ष केपी शर्मा ओलीको सरकारको मन्त्रिमण्डलमा सहभागी भएको छ । मन्त्री यादवले त्रिभूवन विश्वविद्यालयबाट शिक्षा शास्त्रमा प्रविणता प्रमाणपत्र (आइएड) सम्मको शिक्षा हासिल गर्नुभएको छ । (रासस) 



प्रतिक्रिया दिनुहोस्