Logo

राजनीतिमा मैले हारेको ईतिहाँस छैन, दलको नेतामा जित्छुु : सिंह



काठमाडौं, १६ फागुन । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आफूले कांग्रेसको राजनीतिमा आजसम्म कहिल्यै पनि नहारेको स्पष्ट पारेका छन् । सिंहले आफूले दलको नेतामा उम्मेद्धवारी दिने घोषणा गरेका छन् ।

महामन्त्री शशांक कोइरालाले आफ्नो पार्टीका राष्ट्रियसभा र प्रतिनिधिसभामा नवनिर्वा्चित सांसदहरुलाई लञ्चको लागि बोलाएको भेलामा सहभागी भएका नेता सिंहले पत्रकार ऋषि धमलासँगको कुराकानीमा यस्तो बताएका हुन् । उनले भने,‘मैले आजसम्म चुनाव हारेको ईतिहाँस छैन, म चुनाव लड्छु।’

पार्टी सभापति शेरबहादुर देउवाले त उम्मेद्धवारी घोषणा यहीँबाट गर्नुभयो नि भनेर धमलाले सोधेको प्रश्नमा सिंहले त्यो देउवाको अधिकारको कुरा भएको बताए । उनले थपे,‘पार्टीले निर्वाचन समिति गठन गरिसकेको छ, देउवाले अग्रिम रुपमा भन्नुभयो, उहाँको अधिकारको कुरा हो ।’

संसदीय दलको नेतामा सभापति देउवाले चाहना नदेखाए नै राम्रो हुने उनको सुझाव छ । ‘पार्टी जुन रुपमा क्रियाशिल गर्नुपर्दथ्यो, त्यो उहाँले गर्न सक्नुभएन, महाधिवेशन भएको २ वर्ष हुन लाग्यो विभाग, प्रतिष्ठान, उपसभापति पनि नियुक्त गर्न सक्नुभएन, उहाँकै कारणले पार्टीका कुनै पनि संरचना चलायमन हुन पाएनन्, यसको कारणले चुनाव हारिएको हो।’

उनले देउवा असफल सभापति भएको पनि आरोप लगाए । उनले थपे,‘उहाँले देखाउनुपर्ने भूमिका निर्वाह गर्न सक्नुभएन, फेरि पनि उहाँलाई निरन्तरता दिनु गलत हो ।’

यद्धपी उनले आफूपनि धेरै ठाउँमा चुकेको हुनेसक्ने स्पष्ट पार्दै भने,‘म धेरै ठाउँमा चुकेको होला, मैले भन्न खोजेको के हो भने संसदीय दलको नेता कसलाई बनाउने भनेर अहिले सबैले हेरिरहेका छन् । राजनीतिमा लागेर दलको नेता बन्छु, जनप्रतिनिधि हुन्छु भन्ने साथीहरुले कता भोट हाल्ने ? हामीलाई आम मतदाताहरुले नियाँलिरहेको, पार्टीलाई सुधार गर्नको लागि र संस्थापक नेताहरुले स्थापना गर्दा पार्टीमा जुन किसिमको लोकप्रियता र जनप्रियता थियो, त्यही गति प्रदान गर्नको लागि नेतृत्वको परिवर्तन हुनुपर्छ ।’

तपाईले चुनाव जित्ने आधार के हो त ? भन्ने अर्को प्रश्नमा सिंहले भने,‘प्रशस्तै आधारहरु छन्, यो त निर्वाचन प्रक्रियामा गैसकेपछि थाहा हुने कुरा हो । राम्रोसँग ख्याल गर्नुहोस् । मैले अहिलेसम्म कुनै पनि निर्वाचन हारेको ईतिहाँस छैन । सबैको मत लिन्छु ।’

सभापति देउवाको पक्षमा ३९ जना सांसद हुनुहुन्छ अनि तपाईले कसरी चुनाव जित्नुहुन्छ त ? भन्ने प्रश्नमा सिंहले भने,‘त्यो हिसाब तपाईसँग छ, मेरो हिसाब म सँग छ ।’



प्रतिक्रिया दिनुहोस्