Logo

नेपाललाई २०२१ सम्ममा अतिकम विकसित मुलुकहरुको सूचीबाट बाहिर निकाल्ने सरकारको तयारी



फागुन १६, काठमाण्डौ । सरकारले नेपाललाई सन् २०२१ सम्ममा अति कम विकसित मुलुकहरुको सूचीबाट बाहिर निकाल्ने गरी काम गर्ने भएको छ । मन्त्रिपरिषद्को बुधबारको बैठकले तत्काल अति कम विकसित मुलुकहरुको सूचीबाट हटाउने कि नहटाउने भन्नेबार समीक्षा गरेको थियो ।

उक्त सूचीबाट हटाउनका लागि आवश्यक पर्ने तीनवटा मापदण्ड मध्ये दुई पुरा भएको तर एउटा मापदण्ड पुरा गर्न बाँकी नै रहेकोले सन् २०२१ सम्ममा त्यो पुरा हुने बैठकको ठहर छ ।

मानव अधिकार र शैक्षिक स्तरको सूचकांक अनुसार नेपाल अतिकम विकसित मुलुकको सूची भन्दा माथि उठ्न सक्ने अवस्थामा रहेको छ । तर प्रतिव्यक्ति आयमा चाही सूचीबाट माथि उठ्ने सक्ने अवस्था अझै भएको छैन । यो सूचीबाट बाहिर जानका लागि प्रतिव्यक्ति आय १२ सय डलर भन्दा माथि पुग्नुपर्छ ।

तर हाल करिब ८ सय मात्र रहेकोले तत्काल अतिकम विकसित देशको सूचीबाट नबाहिरिने निर्णय भएको मन्त्री लालबाबु पण्डितले जानकारी दिए ।

अतिकम विकशित देशहरुको आगामी बैठकमा प्रत्येक देशले आफ्नो प्रगति प्रतिवेदन पेश गर्ने गरेका छन् । त्यही क्रममा नेपालले सन् २०२१ सम्ममा आफ्नो मापदण्ड पुरा गर्ने लक्ष्य साथ काम गर्ने रिपोर्टिङ गर्ने छ ।

बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारी तथा सदस्यहरुलाई आवश्यकता परेको खण्डमा वैदेशिक भ्रमणमा जान दिने निर्णय पनि गरेको छ ।



प्रतिक्रिया दिनुहोस्