Logo

गाउँ-गाउँमा रिचार्ज कार्डका घुम्ती व्यापारी



कालीकोट, १७ फागुन : बिहान उठ्ने बित्तिकै नरहरिनाथ गाउँपालिकाका अनरुप विष्ट गाउँ गाउँका खुद्रा पसल चहार्नु हुन्छ । उहाँले सदरमुकामबाट रिचार्ज कार्ड ल्याएर गाउँ गाउँमा बिक्री गर्नुहुन्छ ।

विष्टले गाउँ गाउँमा पुगेर मासिक रु तीन लाखदेखि रु चार लाखसम्मको रिजार्च कार्ड बिक्री गर्नुहुन्छ । उहाँले रिचार्ज कार्ड बिक्री गरेर मासिकरुपमा रु १२ हजारदेखि रु १५ हजारसम्म आम्दानी गर्नुहुन्छ ।

“निश्चित व्यापारीलाई ग्राहक बनाएको छु,” विष्टले भन्नुभयो । यसबाट आफूलाई घरखर्च र बालबच्चाको पठनपाठनका लागि सहज भएको उहाँको भनाइ छ । जिल्लाका दुर्गम ग्रामीण क्षेत्रमा रु १०० को रिचार्जको कमिसन रु १० देखि २० सम्म लिने गरिएको छ । “महिनामा रु पाँच लाखसम्मको रिचार्ज कार्ड बिक्री हुन्छ,” उहाँले भन्नुभयो । गाउँका अधिकांश खुद्रा पसलबाट रिचार्ज कार्ड बिक्री हुन्छ । रिजार्च कार्ड ल्याउन सदरमुकाम आउजाउ गर्दा अत्यधिक खर्च हुन्छ ।

यस्तै, नरहरिनाथ–३ का व्यापारी भावना बुढा गाउँमै नियमित रुपमा रिजार्ड कार्ड प्राप्त हुँदा सहज भएको बताउनुहुन्छ । जिल्लाको अति विकट मानिएको पलांता गाउँपालिकामा रु १०० को रिजार्च कार्डमा रु २० सम्म थप रकम लिने गरेको पाइएको छ । अहिले अधिकांश नागरिक फेसबुक र अन्य सामाजिक सञ्जालमा जोडिएका कारण रिचार्ज कार्डको माग बढ्दो छ । (रासस)



प्रतिक्रिया दिनुहोस्